Friday, August 10, 2018

'नेपाली आख्यानमा प्रेमा शाहको उपस्थिति र योगदान' विषयक गोष्ठी सम्पन्न ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा कथाकार प्रेमा शाहकाे अाख्यान सम्बन्धमा चर्चा परिचर्चा


नेपाल प्रज्ञा प्रतिष्ठान र गुञ्जन साहित्यिक स‌स्थाको संयुक्त आयोजनामा २०७५ साल साउन २५ गते कथाकार प्रेमा शाहको आख्यान सम्बन्धमा चर्चा परिचर्चा गरिएको छ । कार्यक्रममा डा.ज्ञानु अधिकारीले नेपाली आख्यानमा प्रेमा शाहको उपस्थिति र योगदान विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको  थियो । कार्यपत्र प्रेमा शाहको आख्यान सन्दर्भ र प्रवृत्ति, नेपाली आख्यानमा प्रेमा शाहको उपस्थिति र योगदान तथा नेपाली साहित्यमा प्रेमा शाहको स्थान र योगदान लगायतका विषयहरुमा केन्द्रीत थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले प्रेमा शाहले आख्यानका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको बारेमा गरिएको कार्यक्रममा प्रतिष्ठानको तर्फबाट सहभागीता जानाउन पाउँदा खुसी लागेको बताउनु भायो ।

नेपाल प्रज्ञा–प्रष्ठिानका उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञ परिषद्का सदस्यहरु र प्राज्ञ सभाका सदस्यहरुको समेत उपस्थिति रहेको कार्यक्रममा काशिनाथ तमोटले प्रेमा शाहको बारेमा विशेष मन्तव्य राख्नु भएको थियो । गुञ्जन साहित्यिक संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान, गद्य आख्यान विभाग प्रमुख श्री मातृका पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।  

www.theliteraturetime.blogspot.com बाट साभार 





























-----------------------------------------------------
कार्यपत्र 
नेपाली आख्यानमा प्रेमा शाहको उपस्थिति र योगदान
ज्ञानु अधिकारी
१. विषयप्रवेश
प्रेमा शाह (२००२) को साहित्यिक यात्रा २०१६ को शारदा पत्रिकामा प्रकाशित दुई कविता शीर्षकको कविताबाट आरम्भ भएको हो । उनको आख्यान विधाको लेखनयात्रा प्रतिक्रिया शीर्षकको कथा २०१८ को शारदा पत्रिकामा प्रकाशित भए पछि अघि बढेको देखिन्छ । प्रौढ साहित्य र बाल साहित्य दुबैमा सक्रिय शाहका बालकथा, बालउपन्यास र बालगीतका झण्डै एक दर्जन कृति प्रकाशित छन् । साहित्य यात्राको प्रारम्भिक चरणमा कविता विधामा सक्रिय शाहका दुई दर्जन भन्दा बढी फुटकर कविता विभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा प्रकाशित देखिन्छ । उनले कथा, उपन्यास, कविताका साथै नाटक, एकाङ्की, निबन्ध आदि विधामा समेत कलम चलाएकी छिन् । साहित्यका प्रायः सबै विधामा कलम चलाए पनि उनलाई साहित्यिक उचाइमा पु¥याउने केन्द्रीय विधा भने आख्यान नै हो ।
प्रचार र प्रशंसावाजीको साहित्यिक दुनियाँमा प्रेमा शाह फरक किसिमको नाम हो । उनलाई पहेँलो गुलाफ र लोग्ने कथामा मात्र खुम्च्याएर उनको साहित्यिक मूल्याङ्कन गरिनु पक्कै पनि उनको साहित्यकार व्यक्तित्व माथि गरिएको अन्याय हो । बालसाहित्यको पाटोलाई छोडेर पनि उनका पहँेलो गुलाफ (२०२३) र विषयान्तर (२०२८) गरी दुई कथासङ्ग्रह र मम्मी (२०४०) उपन्यास जस्ता बौद्धिक तथा उत्कृष्ट कृतिहरू प्रकाशित देखिन्छन् । यौनमनोविज्ञान, अस्तित्ववाद, विसङ्गतिवाद र नारीवादजस्ता अवधारणालाई  केन्द्र बनाएर बोल्ड कथा लेख्ने शाहले यसप्रकारको सशक्त लेखनलाई निरन्तरता किन दिन चाहिनन् यो अस्पष्ट नै रहे पनि उनी पछिल्लो समय भने बालसाहित्यका क्षेत्रमा क्रियाशील रहेको देखिन्छ । नवीन चेतना, युगबोध र सशक्त अभिव्यक्तिका साथ सचेत रूपमा लेखन कार्यमा लागेकी प्रेमा शाह न त आपूm विज्ञापित हुन नै चाहिन्, न त नेपाली साहित्यबाट कुनै अपेक्षा नै गरिन् । ‘एउटै धार र प्रवृत्तिका बासी कुरा मात्रै लेख्ने’ भनी आरोप लगाउने नेपाली साहित्यका विद्वान्हरूले उनको उचित मूल्याङ्कन गर्न नसक्नु कतै नारीस्रष्टा प्रतिको अवमूल्यन त होइन भन्ने प्रश्न उब्जिएको देखिन्छ ।

२. प्रेमा शाहको आख्यानसन्दर्भ र प्रवृत्ति 
प्रेमा शाह नेपाली साहित्यमा पृथक पहिचानका साथ उपस्थित स्रष्टा हुन् । बीसको दशकताका साहित्यमा हस्तक्षेपकारी उपस्थिति देखाएकी शाह प्रत्यक्षतः साहित्यिक वातावरण र साहित्यकारहरूको सम्पर्कमा आउन नचाहने व्यक्तित्व हुन् । विज्ञापित हुन नचाहने अन्तर्मुखी स्वभावकी शाह केवल आफ्ना साहित्यिक कृतिहरूका माध्यमबाट मात्र यस क्षेत्रमा परिचित छिन् । त्यसकारण, उनको समग्र साहित्यिक व्यक्तित्वको अध्ययन मूल्याङ्कन र विश्लेषण पर्याप्त रूपमा भएको देखिदैन । उनको नेपाली साहित्यमा देखिएको शक्तिशाली उपस्थिति र एकाएक पलायनतिर उन्मुख भएको उनको लेखन नेपाली साहित्यका पाठकहरूका लागि एउटा रहस्य नै बन्न पुगेको छ ।
प्रेमा शाहका साहित्यिक लेखनका मुख्य रूपमा तीनवटा प्रवृत्तिहरू पहिलो यौनमनोविज्ञानवादी, दोस्रो विसङ्गतिवादी र तेस्रो नारीवादी स्पष्ट रूपमा देखा पर्दछन् । यी तीन प्रवृत्तिमध्ये नेपाली साहित्यमा उनको मूल्याङ्कन यौनमनोविज्ञानवादी कथाकारका रूपमा मात्र गरिएको छ । उनी नारीहरूको मनोदशा र कुण्ठालाई विषयवस्तु बनाएर नारीपरक कथा लेख्ने कथाकार हुन् । ,,,, तर सैद्धान्तिक रूपमा नारीवादलाई पछ्याएर कथा लेख्ने कथाकार भने होइनन् । उनको मम्मी उपन्यासमा भने नारी अस्तित्व र अहम्लाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । उनको कथायात्राको समयावधि २०१८ देखि २०२८ सम्मको दस वर्षलाई हेर्दा दुई चरण देखा पर्दछन् । पहिलो चरणमा उनको पहँेलो गुलाफ (२०२३) कथासङ्ग्रह प्रकाशित छ र यसमा सङ्कलित अधिकांश कथाहरूमा यौनजन्य विषयवस्तु र कुण्ठाग्रन्थिहरूको उदात्तीकरण प्रकट भएका छन् भने उनको दोस्रो चरणमा लेखिएको विषयान्तर (२०२८) कथासङ्ग्रहमा सङ्कलित कथाहरूमा विसङ्गतिवादी, अस्तित्ववादी तथा शून्यवादी चिन्तनको प्रभाव पाइन्छ ।

सहरिया परिवेश, साम्भ्रान्त परिवार, महलका सजिसजाउ कोठा, साजसज्जा र ती भित्र कुण्ठाले जलेका र निस्सारताको बोधले छटपटाएका मानिसहरूको जीवन भोगाइलाई प्रस्तुत गर्न रुचाउने शाहका आख्यानमा काव्यिक भाषाको प्रस्तुति पाइन्छ । छोटा वाक्य, गहन अभिव्यक्ति, प्रतीकात्मक र बिम्बात्मक भाषा शैलीका कारण उनका रचना शैलीगत दृष्टिले पनि विशिष्ट देखिन्छ । बीसकै दशकमा लेखिएका यिनका नारीपरक कथाहरूमा नारीहरूको विलौना, दुखेसोहरूको एकोहोरो वर्णन पाइदैन । बाँच्नु आफैमा सबैभन्दा जटिल, सबैभन्दा यन्त्रणा र सबैभन्दा निस्सार कार्य हो भन्ने कुरा प्रस्तुत गर्दै उनले आफ्ना रचनाहरूमा मानिसको जीवनलाई अन्त्यहीन समयको वेगमा देखा परेको पानीको फोकाका रूपमा चित्रण गरेकी छिन् । व्यक्तिवादी कथा लेख्ने यिनका कथाले कुनै वर्ग, सम्प्रदाय र पक्षलाई भन्दा पनि मानिसभित्रका निराशा, कुण्ठा, छटपटीका साथै अस्तव्यस्त जिन्दगीको संवेदनाहीता, यान्त्रिकता र विसङ्गत जीवनशैलीको चित्रण गरेको पाइन्छ । धार्मिक, सामाजिक मान्यता, नैतिक मूल्य सबैप्रति अनास्था प्रकट गर्ने पात्रहरूको प्रयोग गरी मानवीय जीवनको निरर्थकता प्रकट गर्नु नै यिनका कथाका मुख्य प्रवृत्तिगत विशेषता हुुन् ।

३. कृतिका आधारमा प्रेमा शाहको साहित्यिक मूल्य
२०१६ बाट प्रारम्भ भएको प्रेमा शाहको साहित्यिक यात्रामा उनको सक्रिय उपस्थिति भने सुरुको दुई दशक मात्र रहेको देखिन्छ । कविता विधाबाट प्रारम्भ भएको उनको लेखन यात्रा कथा, उपन्यास, एकाङ्की, निबन्ध तथा बालसाहित्य हुँदै अघि बढे पनि उनको विशेष योगदान र सक्रियता भने आख्यान विधामा देखिन्छ । यिनका अन्य विधामा प्रकाशित रचनाहरूलाई छाडेर आख्यान विधामा लेखिएका कृतिहरूलाई मात्र यहा चर्चा गर्ने प्रयास गरिएको छ । उनका आख्यानात्मक तीन कृतिहरूको संयुक्त सङ्ग्रह पहेँलो गुलाफ (२०६८) नयाँ संस्करणका रुपमा प्रकाशित भएको छ । यी तीन कृतिहरूमध्ये पहेँलो गुलाफ (२०२३) र विषयान्तर (२०२८) कथासङ्ग्रह हुन् भने मम्मी (२०४०) उपन्यासका रूपमा प्रकाशित देखिन्छ । यस बाहेक यिनको आकाश विभाजित छ (सहलेखन, २०३२) उपन्यास पनि प्रकाशित छ । दसजना सहित्यकारको संयुक्त लेखनमा प्रकाशित भएको उक्त उपन्यासको अन्तिम खण्ड प्रेमा शाहद्वारा लेखिएको थियो र उपन्यासको यो अंश २०३० को रूपरेखा पत्रिकामा प्रकाशित भएको थियो । तथापि यहाँ प्रेमा शाहको साहित्यिक मूल्यको निरुपण गर्न उनका तीन आख्यान कृतिलाई नै आधार बनाइएको छ । पहेँलो गुलाफ यौन मनोविज्ञानवादी चिन्तनमा आधारित कथाहरूको सङ्कलन हो भने विषयान्तर  विसङ्गतिवादी चिन्तनमा आधारित कथाहरूको सङ्कलन हो । यसैगरी मम्मी नारीवादी चिन्तन र मान्यतामा आधारित उपन्यास हो । उनका यी तीनवटा कृतिहरूमा भिन्न प्रवृत्ति, चिन्तन र चेतना अभिव्यञ्जित भएको पाइन्छ । 
  प्रशस्त समयको अन्तरालमा लेखिएका यी तीनओटा आख्यानात्मक कृतिहरूमा विषयवस्तु, प्रस्तुतीकरणको शैली तथा विचारपक्ष आदिमा पनि पृथकता पाइन्छ । पहिलो कथासङ्ग्रहका सबैजसो कथाहरु फ्रायडको यौनमनोविज्ञानको सिध्दान्तबाट प्रभावित भई लेखिएका छन् । यसमा यौनजन्य कुण्ठा, आवेग, संवेग, ग्लानी र छटपटीहरूको चित्रण गरिएको छ भने दोस्रो कृति विषयान्तर मा फरक विषयवस्तुको प्रयोग गरिएको देखिन्छ । अमूर्त लेखन, प्रयोगपरक शैली कथाहीनता र वैचारिक पक्षको प्रधानता भएको यस सङ्ग्रहका कथाहरूमा विसङ्गतिवादी चेतनाको प्रस्तुति पाइन्छ । यसैगरी झण्डै बार वर्षपछि प्रकाशित मम्मी शीर्षकको उपन्यास सरल भाषाशैलीमा लेखिएको आख्यानात्मक कृति हो । यो उपन्यास नारीको उच्च अहम् र अस्तित्वको स्थापनामा जोड दिई लेखिएको छ । सम्भ्रान्त र सम्पन्न वर्ग, सहरी परिवेश र एउटी शिक्षित, स्वभिमानी र अस्तित्वचेतना भएकी नारीको जीवनशैली र सङ्घर्षको प्रस्तुति रहेको यो उपन्यासमा नारीवादी चेतनाको स्वर अभिव्यञ्जित भएको पाइन्छ । 

३.१. पहेँलो गुलाफ कथासङ्ग्रहमा यौनमनोविश्लेषणात्मक पक्ष
प्रेमा शाहको साहित्य यात्राको पहिलो (२०१८–२०२३) चरणका कथाहरूमा यौनपरक विषयवस्तुहरूको व्यापक प्रयोग भएको देखिन्छ । २०२३ मा प्रकाशित पहेँलो गुलाफ कथासङ्ग्रह भित्र सङ्कलित आठओटा कथाहरूमा यौनमनोविज्ञानलाई नै केन्द्र बनाई कथावस्तुको चयन गरिएको छ । विभिन्न प्रतीक र बिम्बहरूको प्रयोग गरी लेखिएका यी कथाहरूमध्ये केही कथामा अमूर्त लेखनको शैली पनि आत्मसात गरिएको छ । प्रकृतिका विविध सन्दर्भहरूलाई प्रतीकात्मक रूपमा प्रयोग गरी अभिव्यक्तिलाई गहन बनाउन र भाव सम्प्रेण गर्न प्रेमा शाह निपुण देखिन्छिन् । प्रस्तुत सङ्ग्रहका कथाहरूमा पात्रहरूका बाह्य पक्षलाई नभई आन्तरिक पक्षलाई सूक्ष्मरूपमा देखाइएकाले यी कथाहरू पूर्णतः मनोवैज्ञानिक धरातलमा लेखिएका देखिन्छन् । उनका कथामा यौनजन्य सन्दर्भ र क्रियाकलापहरूको चित्रण गरिएको भए पनि ती अन्यन्तै शालीन र मयार्दित रूपमा प्रकट भएका छन् । प्रतीकात्मक र कलात्मक भाषाका कारण कथा उत्कृष्ट बनेको छ ।
प्रस्तुत कथासङ्ग्रहमा पहेँलो गुलाफ, लोग्ने, प्रतिक्रिया, चायाँ, मीना, एउटा जीवन्त क्षण जो मरी–मरी पनि बाँच्छ, वाल्जपछि, सिउँडीको भ्mयाङमा शीर्षकको आठवटा कथाहरूमध्ये अधिकांश कथाहरूमा नारी मनोविज्ञानको यौनपक्षलाई सूक्ष्म रूपमा चित्रण गरिएको छ । पहेँलो गुलाफ प्रेमा शाहको सबैभन्दा चर्चित कथा हो । दैनिकी लेखनको शैलीमा लेखिएको यस कथामा समाख्याता म पात्रको दिनचर्या र मानसिक छटपटी, कुण्ठा र विक्षिप्ततालाई प्रस्तुत गरिएको छ । यौनलाई जैविक आवश्यकता र यौनजन्य क्रियालाई मान्छेको जन्मजात गुण मानेर मनोविश्लेषणको कोणबाट व्याख्या गर्ने फ्रायडको यौनमनोविज्ञान सिध्दान्तलाई पछ्याइएको यस कथामा म पात्रको श्रीमान्को यौनजनिक संवेग र आवेगहरू मनोविकारका रूपमा प्रस्तुत भएको देखाइएको छ । क्षयरोगले ग्रस्त भएर हस्पिटलको बेडमा सुतिरहेकी श्रीमतीको रोग र अस्वस्थाको समेत पर्वाह नगरी कामवृत्तिमा संलग्न पुरुषको आवेग र उन्मादलाई देखाइएको यस कथामा पहेँलो गुलाफ नारी प्रतीकका रूपमा र पहेँलो गुलाफको पातमा टाँसिन आउने झुसिलकीरालाई पुरुषको प्रतीकका रूपमा प्रस्तुत गरी पुरुषको आक्रमक र परपीडक प्रवृत्तिको चित्रण गरिएको छ । म पात्र श्रीमान्को अतिकामुकताजन्य यौन विकारबाट अत्यन्त पीडित भएको र उनले गर्ने प्रेम साँचो अर्थमा प्रेम नभएर वासना मात्र भएको भाव कथामा अभिव्यक्त गरिएको छ ।  परम्परागत रूपमा नारीहरूले भोग्दै आएका यौनजन्य पीडा र कुण्ठाका साथै यस कथामा पुरुषहरूको स्वेच्छाकारी प्रवृत्तिलाई  प्रभावकारी रुपमा प्रस्तुत गरिएको छ ।  
लोग्ने कथा पनि पहिलो कथाजस्तै यौनमनोविज्ञानमा आधारित कथा हो । सामाजिक मान्यता, यौनमनोविज्ञान र पात्रको असमान्य अवस्थाको चित्रण गरिएको यस कथामा लोग्नेको मृत्यु भई वैधव्य जीवन बिताउन बाध्य एउटी युवतीको यौनजन्य मनोविकारको चित्रण गरिएको छ । लोग्नेको सामिप्य र मायाको अभाव, यौन अतृप्तिजन्य कुण्ठा र बहिनीको तीव्र इष्र्याबाट उत्पन्न मनोविकृतिहरूलाई देखाइएको यस कथाकी केन्द्रीय पात्र निर्मला हीनता र दमित यौन मानसिकताले ग्रसित पात्र हो र उसले बहिनीलाई हेर्न आएको केटोलाई मन पराएपछि मनोविकारका रूपमा देखिएको उसको असामान्य व्यवहार र प्रतिक्रिया नै कथाको सबैभन्दा महत्वपूर्ण पक्ष हो । यस कथाले एकातिर कलिलो उमेरमा नै विधवा भई सबै चाहना रहरलाई मारेर बस्नुपर्ने सामाजिक संस्कारलाई देखाएको छ भने अर्कोतिर दमित अवस्थामा रहेका मनभित्रका एषणा, कुण्ठाहरूले मनोविकार ल्याई मानिसलाई असामान्य अवस्थामा पु¥याउने अवस्थालाई चित्रण गरेको छ । 
 यस सङ्ग्रहको प्रतिक्रिया शीर्षकको तेस्रो कथामा पुरुषहरूको शङ्कालु मानसिकतालाई चित्रित गरिएको छ । सिंहदरबारमा पालेको काम गरेर राति अबेला घर फर्कने मने आफ्नी स्वास्नीलाई आफ्नो मुठ्ठीभित्रको माखो सम्झन्छ र आफ्नी स्वास्नीको सुन्दरताबाट लोभिएको ऊ अरु पुरुष पनि यस्तै लोभिदा हुन् भन्ने आशङ्काले त्रसित हुन्छ । आफ्नी स्वस्नीले पराइसित हाँसीहाँसी बोलेको सहन नसक्ने मने दिनभरि म नभएको बेलामा कतिसँग हाँसी होली भन्ने शङ्का गर्दै आफ्नै साथीहरूलाई सम्झन पुग्छ । आधारात सम्म भान्सा कुरेर बसेकी स्वास्नीलाई बिना कारण तथानाम पिट्छ । स्वास्नी घर छोडेर हिडेपछि आधा रातमा स्वास्नी खोज्दै हिड्ने मने विक्षिप्त अवस्थामा पुगेको देखाइएको यस कथामा पुरुषको क्रुर मानसिकतालाई पनि अभिव्यञ्जित गरिएको छ । यसैगरी चायाँ शीर्षकको कथामा पनि यौनमनोविज्ञानलाई प्रस्तुृत गरिएको छ । धनाढ्य र सम्पन्न परिवारकी दालचिनी यस कथाकी मुख्य पात्र हो । यसको अनुहारमा आएको कालो चायाँ कथाको बाह्य कथावस्तुका रूपमा देखिएको छ भने आन्तरिक कथावस्तुका रूपमा यौनेच्छा र यौन कुण्ठालाई देखाइएको छ । कालो चायाका कारण आफ्नो रूपमा कुरूपता देखिन थाले पछि लोग्नेको आकर्षण घट्दै गएको र ऊ बाहिरबाहिरै बरालिएर हिडेकाले दालचिनी मर्महात् हुन्छे । उसको मनभित्र दमित अवस्थामा रहेको यौन कुण्ठाले निकास नपाए पछि उसले घरमा काम गर्न राखेको किशोर गोरेलाई नै यौनतृप्तिको माध्यम बनाएको घटनालाई यस कथामा प्रस्तुत गरिएको छ । 
मीना कथामा विपरीतलिङ्गी प्रतिको आकर्षण र त्यसबाट निर्मित आवेग संवेगलाई देखाइएको छ । सानुराजाको कोठामा जान मनपराइरहने मिना सानुराजाले गरेको ठट्टालाई प्रेम सम्झन पुग्छे र आफ्नो नोकरको हैसियतलाई समेत बिर्सन्छे तर एकदिन अनायास सानुराजाले प्रेमगरेको केटीको फोटो देखेपछि ऊ बिक्षुब्ध भएर पल्लो घरमा काम गर्न बसेको दिलेसँग भागेर टाढा जाने निर्णय गर्छे । यस कथामा नारी र पुरुषवीच हुने स्वभाविक आकर्षणलाई कलात्मक रूपमा देखाइएको छ । एउटा जीवन्त क्षण जो मरी–मरी पनि बाँच्छ शीर्षकको कथामा मानिसको जीवनको निस्सारता, जटिलता र अचेतनमा दमित अवस्थामा रहेको यौनजन्य भावलाई एउटा अशक्त अपाहिज, केटाको माध्यमबाट देखाइएको छ । त्यसैगरी वाल्जपछि र सिउँडीको भ्mयाङ्मा शीर्षकको दुई कथामा विदेशी परिवेश र आधुनिक जीवनशैलीको चित्रण गरिएको छ । वाल्जपछि शीर्षकको कथा विषयवस्तु र प्रस्तुतीकरणका दृष्टिले निकै शक्तिशाली कथा हो । यसमा स्वास्नीको यौनैच्छा पूरा गर्न नसक्ने एउटा दुर्बल पुरुषको मनोदशा, हीनताभाव र आत्मग्लानीको प्रकटीकरणका साथै अक्रोशलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ भने सिउँडीको भ्mयाङ्मा कथामा मानसिक तथा शारीरिक सम्बन्धमा देखिएको अनास्था र बिमेललाई देखाइएको छ ।
प्रस्तुत सङ्ग्रहका कथाहरूमा यौनको विविध सन्दर्भ विषय र मानिसका यौनजन्य प्रवृत्तिहरूलाई देखाइएको छ । यौनको उदात्तीकरण, दमित यौनकुण्ठाको परिणति, इश्र्यालु र शङ्कालु पुरुषको हीन मनोग्रन्थि, अतृप्त यौन दुर्वलताका कारण पलाएको हीन भावना आदि जस्ता सन्दर्भहरूको सेरोफेरोमा यस सङ्ग्रहका कथाहरू लेखिएका देखिन्छन् भने यौनजस्तो विषयवस्तुलाई पनि मनोविश्लेषणात्मक रूपमा र प्रतीकात्मक शैलीमा अभिव्यञ्जित गरिएको हुँदा कथा शिष्ट र उत्कृष्ट देखिन्छ ।

३.२ विषयान्तर कथासङ्ग्रहमा प्रयुक्त विसङ्गतिवादी चेतना
प्रेमा शाहको कथायात्राको दोस्रो चरण (२०२४ – २०२८) मा लेखिएका कथाहरूको सङ्ग्रह विषयान्तर पहिलो कथासङ्ग्रह भन्दा नितान्त फरक कथासङ्ग्रह हो । नवीन शिल्पविन्यासमा लेखिएका उनका यी कथाहरूमा अमूर्त शैलीको प्रयोग पाइन्छ । जीवनका विसङ्गत पक्षहरूलाई केलाउदै जीवन र जगत्प्रति निराशाजनक दृष्टिकोण राख्ने विसङ्गतिवादी चिन्तनबाट प्रभावित यिनका यस चरणका आख्यानात्मक सिर्जनाहरूमा अस्तित्ववादी र शून्यवादी चिन्तनको प्रभाव पाइन्छ । अस्तित्ववादी –  विसङ्गतिवादी दार्शनिक सात्र्र र कामुबाट भन्दा पनि मार्टिन हाइडेगरका मान्यता र फ्रान्ज काफ्काका कथाहरूबाट यिनका कथाहरू बढी प्रभावित देखिन्छन् । मानवीय आस्था र मूल्यहरू क्रमशः विघटित हुदै जान थालेपछि बौद्धिक जगत्ले अनुभूति गर्ने विसङ्गतिको प्रस्तुति यिनका रचनाहरूमा पाइन्छ । जीवनका निस्सारता, व्यर्थता, बाध्यता र जटिलता नै यिनको कथामा पाइने मुख्य विषयवस्तु हो । दार्शनिक तथा बौद्धिक दृष्टिकोणबाट लेखिएका यस सङ्ग्रहका अधिकांश कथा प्रयोगशीलता र प्रतीकात्मक शैलीका कारण गम्भीर प्रकृतिका देखिन्छन् ।

प्रस्तुत कथासङ्ग्रहमा विषयान्तर, कुन रङ, अनिश्चितता, स्थितिबोध, कहीँ देखि कहीँसम्म, विरोध, उदात्तरेखा, सन्त्रासदेखि पर, मार्तोल र चट्टान वरपर गरी जम्मा दसवटा कथा सङ्गृहीत छन् । आयामका दृष्टिले छोटा देखिने यी कथाहरू परम्परित ढाँचा भन्दा पृथक् किसिमले लेखिएका छन् । मानिस संसारमा जन्मिसके पछि चाहेर होस् वा नचाहेर जसरी पनि बाँच्नैपर्छ भन्ने आशय व्यक्त भएका प्रस्तुत सङ्ग्रहका कथाहरूमा कथानकको प्रस्तुति विशृङ्खलित रूपमा गरिएको छ । निरुद्देश्य जीवन, रिक्तता र शून्यबोध, विसङ्गत परिवेश, असमान्य अवस्था आदिको सूक्ष्म विश्लेषण गरी बुनिएका यी कथाहरू वैचारिक पक्षको गहनता र अमूर्त भाषाशैलीका कारण केही असम्प्रेषणीय पनि देखिन्छ ।
 यस सङ्ग्रहको विषयान्तर शीर्षकको पहिलो कथामा पक्षघातले पीडित लोग्ने, उसको हीनताबोधी भाव र स्वतन्त्र जीवन बिताउन चाहने शिक्षित श्रीमतीको बीचको सम्बन्धलाई देखाई संसारका सबैमानिस बाध्यात्मक जीवन बाँच्न बाध्य छन् भन्ने कुरा देखाइएको छ भने कुन रङ शीर्षकको कथामा संवेदना मर्दै गएको जीवन भोगाइ अनिश्चित र अस्तित्वहीन जीवनप्रति गरिएको विसङ्गतिबोधलाई प्रस्तुत गरिएको छ । अत्यधिक मात्रामा अङगे्रजी शब्दहरूको प्रयोग गरिएको यस कथामा नारीको मनले अनुभूत गरेको विसङ्गतिबोधलाई व्यक्त गरिएको छ । 
अनिश्चितता शीर्षकको कथा अस्तित्ववादी विसङ्गतिवादी चेतनालाई प्रयोग गरी लेखिएको कथा हो । कथानकविहीन, पात्रविहीन र घटनाविहीन यस कथामा जीवनको क्षणभङ्गुरतालाई दार्शनिक रूपमा व्यक्त गरिएको छ । मृत्यु ले हरपल लखेटिरहेको मान्छेको नियतिलाई सुरुङ + ड्याङ + खाल्डो + इनार = शरण भनेर देखाइएको प्रस्तुत कथा बौद्धिक र प्रयोगवादी कथा हो भने स्थितिबोध कथामा एउटा निरूद्देश्य जीवन भोगिरहेको मानिसको निस्सारतालाई देखाइएको छ ।  बाँच्नुको बाध्यताबाट पन्छिएर मर्न खोज्दा पनि मृत्यु प्राप्त गर्न नसकेको ऊ पात्रको विसङ्गत जीवनलाई यस कथामा देखाइएको छ ।
अनिश्चितता र असुरक्षित नियतिलाई नै जीवनको पर्यायका रूपमा प्रस्तुत गरिएको कहीँदेखि कहीँसम्म शीर्षकको कथामा असामान्य दुराग्रहपूर्ण जीवनको चित्रण गरिएको छ भने विरोध शीर्षकको कथामा मानिसको नियति, दुर्नियति तथा समयप्रतिको विरोधलाई दार्शनिक रूपमा व्याख्या गरिएको छ । प्रतीकात्मक रूपमा लेखिएको यस कथामा पिँजडाभित्रको चराका माध्यमबाट सन्तोषले कैदभित्रै पनि स्वतन्त्रतालाई स्वीकार गरेको हुन्छ । यो पनि नियति नै हो भन्ने भाव व्यक्त गरिएको छ । उदात्त रेखा शीर्षकको कथा अमूर्त शैलीमा लेखिएको कथानकविहीन कथा हो । आधुनिक युगको विसङ्गति, सहरिया बिरानोपन र निरर्थकताको प्रस्तुति यस कथामा पाइन्छ । 
मानिस जति दुश्चिन्तारहित र सन्त्रासमुक्त हुन खोज्छ उति नै ऊ निरुपाय र विवश बन्छ भन्ने अभिप्राय बोकेको सन्त्रासदेखि पर शीर्षकको कथामा अनास्था र विक्षिप्तता बोकेको पात्रको विसङ्गत व्यावहारलाई अभिव्यक्त गरिएको छ भने मार्तोल कथामा फरक शैली र विषयवस्तु संयोजन गरिएको छ । रक्सी भट्टीको दृश्य देखाइएको यस कथमा दुई जना ग्राहकको अस्तित्ववादी चेतनामा केन्द्रित संवाद तथा पुलिस र चोरको सन्दर्भ प्रस्तुत गरी मानिस जे जति गर्छ त्यो केवल आफ्नो अस्तित्वरक्षा कै लागि गर्छ भन्ने आशय व्यक्त गरिएको छ । प्रयोगपरक र काव्यात्मक भाषामा लेखिएको चट्टान वरपर कथा यस सङ्ग्रहको अन्तिम कथा हो । वाक्य रचनाका नियमहरूको समेत उल्लङ्घन गरी लेखिएको यस कथामा प्रतीकात्मक तथा ध्वन्यात्मक भाषाका कारण कथा जटिल बन्न पुगेको देखिन्छ । नयाँ नयाँ प्रतीक तथा बिम्बहरूको प्रयोगद्वारा मानवीय विसङ्गति र शून्यबोधको अभिव्यक्ति यस कथाले व्यक्त गरेको छ ।
प्रेमा शाहको प्रस्तुत कथासङ्ग्रह पूर्णतः अस्तित्ववादी, विसङ्गतिवादी चिन्तनमा आधारित देखिन्छ । जीवन जटिल, दुरुह र विसङ्गत छ र यसै भित्रबाट मानिस जहिलेसुकै अस्तित्वको खोजी गरिरहन्छ तर त्यो निरर्थक छ भन्ने अभिप्राय प्रस्तुत सङ्ग्रहको कथामा पाइन्छ ।

३.३ ‘मम्मी’ उपन्यासमा नारीवादी चेतना
२०४० मा प्रकाशित मम्मी शीर्षकको आख्यानात्मक कृति प्रेमा शाहद्वारा लिखित एक मात्र उपन्यास कृति हो । पूर्णतः नारीपात्र अर्थात मम्मीमा केन्द्रित रहेको प्रस्तुत उपन्यासमा नारी अस्तित्वको स्थापना र नारी अहम्को संरक्षणमा जोड दिइएको छ । आकारगत रूपमा उपन्यास छोटो भए पनि विषयवस्तुको गहनता, वैचारिक अभिव्यक्तिको कुशलता र सरल भाषा शैलीको प्रयोगले उपन्यास विशिष्ट बन्न पुगेको देखिन्छ । कुलीन तथा साम्भ्रान्त वर्ग, सहरिया परिवेश, शिक्षित र बौद्धिक पात्रहरूको प्रयोग भएको यस उपन्यासकी प्रमुख पात्र मम्मी विद्रोही स्वभाव भएकी स्वाभिमानी नारी पात्र हुन् । परम्परागत मान्यता, पितृसतात्मक समाज र पुरुषवादी हैकमको उल्लङ्घन गरी स्वतन्त्रतापूर्वक जीवन बाँच्न सफल मम्मी को जीवनसङ्घर्षको कथा नै यस उपन्यासको मुख्य कथानक हो । 
महलभित्रको सुख, सयलमा रमाएर अस्तित्वहीन जीवन बाँच्नुभन्दा सङ्घर्षपूर्ण जीवन भोगेर आफ्नै पहिचानका साथ अस्तित्वपूर्ण जीवन बाँच्न चाहने र बाँचेर देखाउने यस उपन्यासकी मम्मी पुरुषद्वारा निर्मित सम्पूर्ण सामाजिक मूल्य मान्यता भत्काई नयाँ सत्यको स्थापना गर्न सफल नारी पात्र हुन् । संस्मरणात्मक शैलीमा लेखिएको प्रस्तुत उपन्यासको समाख्याता मम्मी कै कान्छी छोरी रिमी हुन् र उनले आफ्नी मम्मीको प्रवृत्ति, स्वभाव, विचार र सङ्घर्षलाई अभिव्यक्त गर्ने क्रममा नै उपन्यासको रचना भएको देखिन्छ । सोचाइ, व्यवहार, काम गर्ने पद्धति, अभिरुचि सबै बौद्धिक हुनाका साथै आधुनिक जीवनशैली अपनाउने मम्मीका जीवनमा घटेका घटना र उनले लिएको निम्नप्रकारका निर्णयहरूका आधारमा नै यस उपन्यासमा प्रयुक्त नारीवादी चेतना अभिव्यञ्जित हुनपुगेको देखिन्छ, जसलाई निम्नलिखित बुँदाहरुमा देखाउन सकिन्छ ः
लोग्ने घरकी नोकर्नी निर्जलातिर लहसिए पछि तीनवटी छोरी लिएर घरबाट निस्कनु,
सुख, सम्पत्ति र वैभवलाई भन्दा आत्मस्वाभिमानलाई उच्च देख्ने मम्मी म कसैकी आश्रित हुन्न भन्दै माइतमा नबसी डेरामा बस्नु,
आत्मनिर्भरताका लागि काम खोज्नु र नोकरी गर्न थाल्नु,
मानसिक सुरक्षाका लागि किशोर भन्ने पात्र सँग प्रेम सम्बन्ध बढाउनु,
किशोरलाई आफ्नै डेरामा ल्याएर राख्नु ,
छोरीहरूलाई आत्मनिर्भर, सक्षम हुन र स्वतन्त्र जीवन बिताउन प्रेरित गर्नु र रिमीलाई डाक्टर बनाउनुु,
किशोरको पुरुषवादी प्रवृत्ति र हैकम क्रमश बढ्दै जान थालेपछि उसलाई घरबाट निकालिदिनु,
 –आफ्नै पसिनाको कमाइले सुन्दर घर किन्नु,
कसैका अगाडि उदासी, खिन्नता, रोग, व्यथा नदेखाउनु र अन्त्यमा गलस्टोनको अप्रेशन गर्ने क्रममा मृत्यु हुनु आदि ।
उपन्यासका यी घटना शृङ्खलाले मम्मी पात्रको आत्मस्वभिमान, अस्तित्ववादी चिन्तन र परम्परित मूल्य मान्यताप्रतिको अनास्थालाई प्रकट गरेको छ । लोग्नेमा इमान्दारी र कर्तव्यबोध नभएपछि आलिसान महल, सुख, सम्पत्ति सबैलाई लत्याएर हिड्नु, डेरामा गई बस्नु, जागिर खानु अस्तित्वपूर्ण जीवनको खोजी हो भने, यौन आवश्यकता र मानसिक सुरक्षालाई पूरा गर्नका लागि किशोर नामको पात्रलाई आफ्नै घरमा ल्याएर राख्नु परम्परित सामाजिक मान्यताको उल्लङ्घन हो । प्रेमको नाममा पुरुषलाई ईश्वरको दर्जा दिएर पूजा गर्ने परिपाटीप्रति विरोध जनाइएको यस उपन्यासमा ऊ सधै मेरो वरिपरि होस् , मेरा सबै आवश्यकता पूर्ति गरिदेओस, मेरो सेक्युरिटी उसैले गरिदेओस् भन्ने भावना त दुश्चिन्ता हो भन्दै नारीले आपूmलाई नै सर्वोपरि ठान्नुपर्ने र कुनै पुरुषका आश्रय, सुरक्षामा बाँच्ने परम्परालाई त्याग्नुपर्ने भाव व्यक्त गरिएको छ ।
सभ्य, बौद्धिक र चेतनशील पात्रहरूको प्रयोग गरी लेखिएको प्रस्तुत उपन्यास नारी अस्तित्व, नारी अहम् र नारीवादी चेतना प्रस्तुत गरिएको उत्कृष्ट कृति हो ।

४. नेपाली साहित्यमा प्रेमा शाहको स्थान र योगदान
चार दशक अघि नै प्रकाशमा आइसकेका उनका दुई कथासङ्ग्रहमा समेटिएका कथाहरु नेपाली कथासाहित्यकै उत्कृष्ट नमुना हुन् । विषयगत, शैलीगत र प्रस्तुतिगत दृष्टिले यति सशक्त र बोल्ड कथाहरू लेख्ने कथाकारका बारेमा कहीँ कतैबाट कुनै मूल्याङ्कन र चर्चा नहुनु नेपाली साहित्यकै एउटा आश्चर्यलाग्दो पाटो हो । नारी साहित्यकारहरूको त कुरै छाडाँै समकालीन कुनै पनि पुरुष कथाकारहरूका तुलनामा कमजोर नदेखिने, सशक्त कथा लेख्ने यी साहित्यकारले आखिर नेपाली साहित्यबाट के पाइन् अर्थात् उनलाई नेपाली साहित्यले कस्तो मूल्याङ्कन ग¥यो ? भन्ने कुरा त इतिहासले नै बताउला तर चालीस वर्षपछि पनि उत्तिकै नवीन चेत, युगवोध र दार्शनिक दृष्टिकोणका गहिराइ पाइने यी कथाहरूको समग्र मूल्याङ्कन नहुनु एउटा साहित्यकारका लागि विडम्वना नै हो । यसो भनेर नेपाली साहित्यका क्षेत्रमा उनको कत्ति पनि चर्चा भएकै छैन भन्न खोजिएको होइन । साहित्यिक विषय अन्तर्गत उनका कथाहरू पाठ्यक्रममा परेका छन् र उनलाई मनोविश्लेषणात्मक धाराका प्रतिनिधि कथाकारका रूपमा परिचय दिइएको छ तर पनि उनको योगदानका आधारमा हेर्दा यो पर्याप्त देखिँदैन ।
 आजसम्म पनि उनको समग्र साहित्यिक कृतिहरूको गहन अध्ययन र विश्लेषण गरी कृतिका दार्शनिक पक्ष, यथार्थपक्ष तथा अन्य छोपिएका र प्रकाशमा नआएका विविध पक्षहरूलाई उजागर गर्दै  लेखिएको देखिदैन । यसो हुनुमा उनको कथा लेखनबाट पलायन हुनु पनि एउटा कारण हुन सक्छ । गुणात्मक मूल्य बढी भए पनि पाठकहरूले उनका कथा निरन्तर रूपमा आस्वादन गर्न नपाउनु र सामान्य पाठकका लागि उनका रचनाहरू असम्प्रेषणीय हुनु पनि अर्को कारण हुन सक्छ तर नेपाली साहित्यमा कम लेखेर धेरै चर्चा पाएका अन्य साहित्यकारहरूका तुलनामा प्रेमा शाह छायामा भने परेकै देखिन्छ । 


५. समापन
नेपाली साहित्यमा परम्परित लेखनका मान्यताहरुबाट माथि उठेर नवीन सोच र चेतनाबाट प्रेरित भई सशक्त कलम चलाउने प्रेमा शाह पारिजात पछिको प्रतिभाशाली र विशिष्ट नारी स्रष्टा हुन् । समकालीन कथाकारहरूका भीडबाट अलग्गिएर आफ्नो छुट्टै पहिचान र परिचय बनाएकी प्रेमा शाहका कथाहरू आज चालीस वर्षपछि पनि उत्तिकै नवीन र सशक्त देखिन्छन् । पाश्चात्य साहित्य र हिन्दी साहित्यबाट प्रभावित यिनका कथाहरूको परिवेश राष्ट्रिय तथा अन्तराष्ट्रिय भूगोलसम्म पैmलिएको देखिन्छ । अभिजात वर्गको जीवन शैलीको प्रस्तुति पाइने यिनका सिर्जनामा नेपाली समाजको ग्रामीण परिवेश, निम्नमध्यम वर्गीय पात्रहरूको प्रयोग तथा विपन्नता र आर्थिक दूरावस्था भोग्न विवश पात्रहरूको प्रयोग भने प्रायः भएको पाइदैन । साहित्य राष्ट्रकै निधि हो । साहित्यबिनाको सभ्य र आधुनिक समाजको कल्पना गर्नै सकिँदैन । यस्तो साहित्य सिर्जना गर्ने साहित्यकारहरूले दिएका योगदानको कदर नहुनु भनेको लाचारी हो । प्रेमा शाह जस्तो गहन र बौद्धिक कृति दिएर ओजपूर्ण उपस्थिति देखाउने साहित्यकार नेपाली साहित्यको इतिहासमा धुमिल बन्दै जानु भनेको सम्पूर्ण नेपाली साहित्यकारहरूकै अस्तित्वमाथि उठेको गम्भीर प्रश्न हो ।
पाश्चात्य वादहरूको प्रभाव नेपाली साहित्यमा तिव्रत्तर हुँदै गइरहेको समयमा आफ्ना सशक्त कथाहरूका साथ देखा परेकी प्रेमा शाह परिमाणात्मक रूपमा थोरै लेख्ने तर बौद्धिक र सशक्त सिर्जना लेख्ने साहित्यकार हुन् । नारी स्रष्टाहरूको न्यून उपस्थिति देखिएको तत्कालीन परिवेशमा पनि अन्य साहित्यकारहरूका लेखनशैली, विषय प्रस्तुति र दृष्टिकोण भन्दा पृथक रहेर साहित्य सिर्जना गर्ने उनी साहित्यका अन्य गतिविधिबाट भने टाढै रहेको देखिन्छ । मुख्य रूपमा वैयक्तिक समस्याहरूको अभिव्यञ्जना र आंशिक रूपमा सामाजिक समस्याको चित्रण पाइने उनका रचनाहरूमा दमित कुण्ठाका उदात्तीकरण र मान्छेका आन्तरिक तथा बाह्य चरित्रको उद्घाटन नै मुख्य अभीष्ट बनेर आएका देखिन्छन् । उनका रचनाहरूमा नारीपरक विषयवस्तु र नारी मनोविज्ञानको प्रस्तुति प्रभावकारी रूपमा प्रस्तुत भएका छन् । 


प्रमुख सन्दर्भ सूचीे
अधिकारी ज्ञानु ; प्रायोगिक समालोचना ः केही प्रतिरुप, काठमाडौँ ः भुँडीपुराण प्रकाशन, २०६७ ।
...................., साइबर सिद्धान्त, प्रयोग र अन्य समालोचना, ललितपुर ः साझा प्रकाशन, २०७४ ,
गौतम लक्ष्मणप्रसाद, र अधिकारी ज्ञानु, नेपाली कथाको इतिहास, काठमाडौँ ः नेपाल प्रज्ञाप्रतिष्ठान, २०६९ ।
जोशी, कुमारबहादुर, पाश्चात्य साहित्यका प्रमुख वाद, ललितपुर ः साझा प्रकाशन, २०५४ ।
ढकाल, रजनी, त्रिपाठी गीता र अधिकारी ज्ञानु, विश्व नारी नेपाली साहित्य ः परम्परा र प्रवृत्ति, काठमाडौँ ः त्रिमूर्ति निकेतन, २०७१ ।
प्रेरणा, गिरी, गोविन्द, प्रेमा शाहसँगको अन्तर्वार्ता, गरिमा (नारी ः अस्तित्व र अस्मिता विशेषाङ्क) पूर्णाङ्क ३५६, पृ. २३ – ३० ।
शाह, प्रेमा, पहेँलो गुलाफ, काठमाडौँ ः रत्नपुस्तक भण्डार, २०६८ ।
शर्मा मोहनराज र लुइटेल खगेन्द्रप्रसाद, पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौँ ः विद्यार्थी 

No comments:

Post a Comment