Saturday, December 24, 2016

नेपाल प्रज्ञा- प्रतिष्ठान र जगदीश घिमिरे प्रतिष्ठानको संयुक्त साहित्यिक कार्यक्रम सम्पन्न ।

जगदीशको सम्झनामा मन्थली साहित्यमय



तस्बिर : टीकाप्रसाद भट्ट/कान्तिपुर
- कान्तिपुर संवाददाता , मन्थली (रामेछाप)
पुस १०, २०७३-

‘हिमशैल तुङ्ग गौरीशंकर उद्गमस्थल
पृथ्वी काखमा बग्दैछ, छङछङ तामाकोशी अविरल
सस्यामल हरित परिधानले सुसज्जित छ नगरी
पूर्व तटमा अवस्थित छ मेरो सुरभ्य मन्थली....’

कवि शशी भट्टराईको यही पंक्तिबाट साहित्यिक माहौल उठान भयो । सन्दर्भ हो, साहित्यकार तथा समाजसेवी जगदीश घिमिरेको तेस्रो स्मृति सभा । मन्थली सामुदायिक सभाहलमा शनिबारको दिन खचाखच दर्शकको उपस्थिति थियो । पाकादेखि तन्नेरी स्रष्टाहरु हात हातमा रचना लिएर उपस्थित थिए । 

धरतीमा सुन्दर रोशनी छरेर
चमचम ताराहरु जस्तै
जुनेली रातको शितलता बनेर
अनि सबैको आँखाको नानी
एउटा सपुतको जन्म भयो
हो हाम्रो रामेछापको जगदीश..

कवि प्रविना नेपालीले यही पंक्ति वाचन गरिन् । सभाहलमा तालीको पर्रा छुट्यो । सायद उनै साहित्यकार जगदीशप्रतिको समर्पित हुनुले । छन्दोबद्ध कविता, गीत, गजल, मुक्तक, हास्यरसका रचनाहरु वाचन गरिए दिनभरि । बाबुराम श्रेष्ठ, उद्धव अविरल, झँकारराज शर्मा, उद्धवप्रसाद घिमिरे, रामचन्द्र वियोगी, शान्ता पौडेल, सुनिता श्रेष्ठ, प्रकाश परिस्कार लगायत स्थानीय कविले रचना वाचन गरेका थिए । त्यसैगरी पाका कवि रामप्रसाद कोइराला र युवा मदन खरेलले अंग्रेजी भाषामा रचना वाचन गर्न भ्याए ।

त्यसैगरी राजधानी काठमाडौंबाट पुगेका कविहरु अशेष मल्ल, डम्बर गिरी, महेश प्रसाईं, राप्रउ, लक्ष्मण गाम्नागे, रमेश पौडेल, रुपक बनवासी, शितल कादम्बिनी, गणेश राई, सन्ध्या पहाडी, ज्ञानुवाकर पौडेल, त्रिपुरा पौडेल, मातृका पोखरेल लगायतले रचना पाठ गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठान र जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको उक्त साहित्यिक तथा संस्कृति विषयक गोष्ठी भएको हो । समारोहमा प्रज्ञाका उपकुलपति विष्णुविभू घिमिरेको प्रमुख आतिथ्य र घिमिरे प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षता रहेको थियो । कार्यक्रममा उनले जगदीश घिमिरे राष्ट्रका गहना भएकाले प्रतिष्ठानले उनको योगदानलाई बिर्सनु नहुने बताए । उनले जगदीश जस्तो व्यक्ति कतै नजन्मेको प्रसंग जोडे । सोही कार्यक्रममा चिकित्सक तथा कवि सुमन कर्माचार्यको दोस्रो कवितासंग्रह ‘देश दुखेको बेला’ को विमोचन घिमिरे र मल्लले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेले स्व. जगदीश घिमिरेको नामबाट हरेक वर्ष ५० हजार राशिको जगदीश घिमिरे साहित्य पुरस्कार वितरण गर्ने घोषणा गरेकी थिइन् ।

साहित्यकार रोचक घिमिरेले ‘कर्म र कृतिमा बाँचिरहेका जगदीश’ र पेशल आचार्यले ‘रामेछाप जिल्लाका केही सम्पदाहरु’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि ज्ञानु पाण्डे र नगेन्द्रराज शर्माले टिप्पणी गरेका थिए । कार्यक्रममा देशका मूर्धन्य साहित्यकारकै हाराहारीमा स्थानीय सर्जकले आफ्ना रचना सुनाएका थिए ।

रामेछापका इतिहासदेखि वर्तमानसम्म चर्चित कविहरु धरणीधर कोइराला, साम्वभक्त शर्मा, भरतराज मन्थलीय, शम्भुप्रसाद भट्टराई, जगदीश घिमिरे, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, बिमल भौकाजी, रामकुमार भौकाजी, हदयराज घिमिरे, भूपहरि पौडेल, रामचन्द्र वियोगी लगायत हुन् । झण्डै २ लाख ५० हजार जनसंख्या रहेको यस जिल्लामा क्षेत्री, बाहुन, कामी, दमाई, सार्की, तामाङ, शेर्पा, सुनुवार, माझी, हायु, पहरी, थामी, वादी, मगर, नेवार लगायत जातिको बसोबास रहेको छ ।

http://kantipur.ekantipur.com बाट साभार 
प्रकाशित: पुस १०, २०७३

====================================================






























































































































































































=======================================================




नेपाल प्रज्ञा- प्रतिष्ठान  र जगदीश घिमिरे प्रतिष्ठानको   २०७३ पुस ९   सम्पन्न संयुक्त साहित्यिक कार्यक्रम मन्थली, रामेछाप  ।  

No comments:

Post a Comment