Sunday, January 21, 2018

नेपाल प्रज्ञाप्रतिष्ठान तथा रोशी वाङ्मय प्रतिष्ठानद्वारा लघुकथा गोष्ठी सम्पन्न ।

२०७४ माघ ५ गते नेपाल प्रज्ञा - प्रतिष्ठान तथा रोसी वाङ्मय प्रतिष्ठानद्वारा काभ्रेको भकुण्डेबेसीमा लघुकथा गोष्ठी सम्पन्न भयो ।रोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष गोविन्द बहादुर थापाको सभापतित्व सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा - प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् गध्य / आख्यान विभाग प्रमूख मातृका पोखरेल हुनुहुन्थ्यो । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मण प्रसाद गौतमले  'लघुकथामा विचारवाक्यको उपस्थापन : सन्दर्भ वर्तमान नेपाली लघुकथा' विषयक आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्र माथि लघुकथाकार एवम् समिक्षक तुलसीहरी कोइराला र मोदनाथ अधिकारीले टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा लघुकथाकारहरू हरि प्रसाद शिलवाल, केन्द्र प्रसाद ओझा, रमेश प्रसाद नेउपाने, भोटेको छोरा, कमल कुइकेल, रुक्मिणी सिग्देल, मोदनाथ अधिकारी, छविरमण शिलवाल, यन्त्र खनाल  लगायतले लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि श्रीओम श्रेष्ठ रोदन र रोसी वाङ्मय प्रतिष्ठानको भवन निर्माणका  लागि जग्गादाता एवं समाजसेवी मुक्तिराज हुमागाईंले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । 


===================================================

गोष्ठीमा प्रस्तुत गोष्ठीपत्र  

लघुकथामा विचारवाक्यको उपस्थापन : सन्दर्भ वर्तमान नेपाली लघुकथा
 डा. लक्ष्मणप्रसाद गौतम 

१. विषयपरिचय : लघुकथा 

आख्यानका कथा र उपन्यास गरी दुई प्रमुख भेद हुन्छन् भने कथाका चाहिँ खास गरेर लघुकथा र कथा गरी दुई नै भेद हुन्छन् तापनि छोटा कथा र सूत्रकथासमेत नेपालीमा देखापरेका छन् । यसरी आकारगत रूपमा लघुकथा, सूत्रकथा र छोटा कथामा प्रायः समानता देखिन्छ र व्यापक रूपमा भन्नुपर्दा सूत्रकथा र छोटा कथा पनि कतिपय सन्दर्भमा लघुकथाभित्रै समाहित हुन्छन् । लघुकथालाई विभिन्न विद्वान्हरूले विभिन्न किसिमले परिभाषित गरे तापनि समग्रमा यसप्रकार परिभाषित गर्न सकिन्छ :
‘सूत्रात्मक, छोटो छरितो, साङ्केतिक, बिम्बात्मक, स्वतन्त्र, उत्तरोत्तर पछिल्ला वाक्यहरूमा तीव्रता भएको, स्वयम्मा पूर्ण, सघन र दुई सय पचास शब्दसम्मको आयाममा विस्तारित तथा आख्यानको लघुतम प्रभेद वा रूपलाई लघुकथा भनिन्छ ।’ 

छोटोमिठो गद्यात्मक र आख्यानात्मक भाषामा जीवनजगत्का विविध र मार्मिक पक्षको चित्रणका दृष्टिले लघुकथाजत्तिको सजिलो अरु विधाका रचना हुँदैनन् । अनुभूति र घटनाको तीव्रताका साथै प्रभावोत्पादकता प्रदान गर्न सकिएन भने र उत्तरोत्तर क्रमशः पछिल्ला वाक्यहरूले घटनालाई अप्रत्याशित पटाक्षेप गर्न सकेनन् भने ती लघुकथा नभएर घटनाहरूको बुनोट र चुट्किला मात्र हुन्छन् । अतः माथि परिभाषामा सङ्केत गरिएका विशेषता मानक लघुकथाका लागि आधारभूत कुरा हुन् । 

२. विचारवाक्य र यसको उपस्थापन 
लघुकथाको सारवस्तु, भाव वा विचारलाई तीव्र रूपमा देखाउने र रहस्यको पटाक्षेप गर्ने अन्तिम वाक्यलाई विचारवाक्य भनिन्छ र यस्तो विचारवाक्य लघुकथाको बीजवाक्य हो । यस किसिमका बीजवाक्य वा विचारवाक्यमा अणुसामथ्र्य लुकेको हुन्छ भने यसैबाट लघुकथा प्रभावोत्पादक बन्दछ । यसको पूरै सम्बन्ध लघुकथाको समापन ९भलमष्लन० सँग हुन्छ । विवृत समापन ९यउभल भलमष्लन० र संवृत्त समापन ९अयिकभ भलमष्लन० गरी यस्तो समापन लघुकथामा दुई किसिमको देखिने गरेको छ । संवृत्त समापन भनेको बन्द समापन हो । संवृत समापन भन्नाले लघुकथाका सन्दर्भमा कौतूहलसँगै अर्थहरू बन्द गरेर टुङ्ग्याइएको भन्ने बुझ्नुपर्छ । लघुकथा लेखकले अन्त्यमा रहस्यको पटाक्षेप नगरीकनै वा रहस्यको पटाक्षेप गरिसकेर पनि आफ्नो निर्णय दिएर लघुकथा टुङ्ग्याइयो भने संवृत समापन हुन्छ । लघुकथा रहस्यको उद्घाटन गर्ने अन्तिमको वाक्यलाई बीज वाक्य वा विचारवाक्य भनिन्छ र लघुकथा लेखकले यस्तो बीजवाक्य वा विचारवाक्यको विन्यासमा ध्यान दिनुपर्छ । 

संवृत समापनको विपरीत प्रक्रिया विवृत समापन हो । यसमा लघुकथाले अभिव्यक्त गर्न खोजेको अर्थलाई खुला राखिएको हुन्छ । विवृत समापनमा लघुकथाको भाव, विचार वा सारवस्तुलाई सुरुदेखि नै क्रमशः अर्थात् उत्तरोत्तर उत्कर्षतिर लगी अन्त्यमा रहस्यको उद्घाटन गरेर त्यसपछि अर्थ लगाउने जिम्मा पाठकलाई नै   छोडिन्छ । यसरी उत्कर्षमा लगेर रहस्यको उद्घाटन गर्ने काम त्यही विचार वाक्यले गर्दछ । विवृत समापनका लघुकथा निकै प्रभावशाली मानिन्छन् । यस्ता लघुकथामा आकस्मिक अन्त्य हुन्छ र त्यसपछि के भयो ? भन्ने कुरालाई रहस्यमै छाडेर अर्थ लगाउने वा निर्णय दिने अधिकार पाठकमै छोडिन्छ । यस्ता लघुकथामा विचारवाक्यको चरमोत्कर्षपछि लेखकले आफ्नो निर्णय दिने काम गर्दैन । 

३. लघुकथामा विचारवाक्यको उपस्थापनमा साक्ष्य 
लघुकथामा विचारवाक्यको उपस्थापनका विधि भनेकै संवृत्त वा बन्द समापन र विवृत वा खुला समापनका विधि हुन् । खुला समापनले लघुकथालाई बहुअर्थी र प्रभावपूर्ण बनाउँछ । लघुकथामा विचारवाक्यको उपस्थापनका विधि वा विन्यासको पद्धतिबाट लघुकथामा केकस्ता प्रभावपूर्ण स्थिति आउँछन् वा लघुकथा कसरी टुङ्गिन्छ भन्ने कुरा थाहा हुन्छ । लघुकथामा विचारवाक्यको उपस्थापन विधिका केही साक्ष्यहरू र तिनको पुष्टिलाई यसप्रकार देखाइन्छ :

(क) धोएको गधा (ध्रुव मधिकर्मी)
लघुकथासार – 
यस लघुकथामा नेता र कार्यकर्ताको संवाद छ । नेताले धोईपखाली सफा बनाइएको गधालाई देखाएर यो के हो ? भनी सोध्छ । कार्यकर्ताहरूले यो गधा हो भन्छन् । नेताहरूले ‘होइन यो गाई हो’ भन्छ र कार्यकर्ताले नेताकै होमा हो मिलाउँछन् । 
विचारवाक्य – अब गधाले भारी बोक्न परेन गधाको भारीमात्र होइन, गधालाई समेत कार्यकर्ताले बोक्दै हिँड्न थाले । 

(ख) पृथक् बाटो (श्रीओम श्रेष्ठ रोदन)
लघुकथासार –
राति दशबजे म पात्र बाटामा हिँडिरहेका बेला एउटी युवतीलाई गुन्डाहरूले जबर्जस्ती गर्न थालेको देखेर गुन्डासँग घम्साघम्सी गरी उसले युवतीलाई जोगाउँछ र घरम्म पु¥याउँछ तर युवतीले उसलाई कामुक नजरले हेर्दै आफ्नै कोठामा बस्न सङ्केत गर्छे 
विचारवाक्य –त्यसपछि भुइँतिर फर्कँदै विस्तारै भनिन्– भित्रै आउनुस् न एक्लै छु । 

(ग) आजको लक्ष्मण – (गोपाल अश्क)
लघुकथासार–
दाजुचाहिँकी श्रीमती हराएकी हुनाले दाजुभाइ प्रहरीचौकी पुग्छन् । प्रहरीले एउटी महिलाको क्षतविक्षत लाश फेला परेकाले उसका कपडा गहना आदिबाट लासको पहिचान गर्न सामान देखाउँछ र दाजुले यो औँठी, पाउजू आदि तिम्री भाउजूको हो ? भनी सोध्छ । त्यसैबेला भाइचाहिँले यी त होइनन्, ‘ऊ त्यो च्यातिएको ब्रेसियर चाहिँ भाउजूको हो भन्छ ।’
विचारवाक्य –दाइ ! त्यो लाशतिर च्यातिएर फ्याँकिएको बे्रसियरचाहिँ भाउजूको हो ।

(घ) सङ्क्षिप्त इतिहास(सुमन सौरभ)
लघुकथासार –
पृथ्वीको उत्पत्तिबारे बाबुछोराको संवाद हुन्छ । छोरीले आफूले विद्यालयमा विज्ञान विषयमा पढेको कुरा सूर्यको एउटा अंश उछिट्टिएर तल खसेको, क्रमशः सेलाउँदैजाँदा पृथ्वी बनेको र जीवहरूको उत्पत्तिसँगै मान्छेको उत्पत्ति भएको कुरा सुनाउँछे । त्यसपछि बाबुले सूर्यलाई एकपटक फेरि पड्किएर दुईचारओटा पृथ्वी बनाइदिन प्रार्थना गर्छ । 
विचारवाक्य –म जस्ता मान्छेलाई सुखसँग बस्न र बिहान बेलुकी गरिखान एउटा पृथ्वीले पटक्कै पुगेन । 

(ङ) पूर्णता – (कृष्ण बजगाई)
लघुकथासार – 
गाउँकी एउटी भद्र महिलाले आत्महत्या गरिन् । गाउँलेहरू धेरै जम्मा भए । उनको सिरानमा विषको बोतल र पत्र भटियो । त्यसमा अरुलाई खुसी पार्न आपूmले एउटासँग प्रेम गरेर अर्कैसँग विवाह गरेको, प्रेम गर्नेले प्रेम मात्र गरेको, विवाह गर्नेले विवाह भएको प्रमाण मात्र दिएको, तेस्रो व्यक्तिले नारीत्वको सार्थकता मात्र दिएको र कुनै पुरुषले पनि पूर्णता दिन नसकेकाले आत्महत्या गरेको उल्लेख थियो । पत्रको बेहोरा सुनेपछि भीड आश्चर्यमा प¥यो । 
विचारवाक्य –अन्त्यमा अवाक् तीनजना पुरुषमात्र बाँकी थिए मृत शरीरका अगाडि । 

(च) मानवअधिकार(तुलसीहरि कोइराला)
लघुकथासार – 
केही मान्छेले तूल टाँगेर कार्यक्रम गरेर हिँड्छन् । त्यो देखिरहेको एउटा गरीबले ती मान्छेहरू गएपछि त्यो तूल झिकेर आफ्नो नाङ्गो आङ ढाक्दछ । भोलिपल्ट त्यसठाउँमा तूल नदेखेपछि तिनीहरू यो कसैको षडयन्त्र हुनुपर्छ भन्छन् । यत्तिकैमा त्यही तूलले बेरिएर बसेको एकजना गरीबलाई देखेपछि उसलाई झम्टिएर त्यो तूल खोस्छन् । ऊ सर्वाङ्ग नाङ्गो हुन्छ । तूल टाँगेर त्यहाँ फेरि मानवअधिकार जिन्दावादको नारा लाग्छ । 
विचारवाक्य –नारा लगाउनेहरूसँगसँगै त्यो नाङ्गो व्यक्ति पनि आवाज थप्दै पछिपछि लाग्यो– मानवअधिकार जिन्दावाद ! हाम्रो पार्टी जिन्दावाद 

(छ) मुक्तिदाता (पुष्करराज भट्ट)
लघुकथासार –
एकजना सम्भ्रान्त नेता आफ्नो साथीसहित मदिरामय परिवेशमा रमाइरहेको हुन्छ । सीमान्तीकृतहरूलाई देखाएर पैसा कमाउने त्यस नेताले गरीबहरूले सुख पाएमा तिनीहरू धर्ना जुलुसमा नआउने र विकासे खेती पनि नमौलाउने कुरा गर्छ । उनीहरूको बोतल समात्ने क्रम यथावत् हुन्छ । 
विचारवाक्य –बोतल समात्ने क्रम रोकिएको छैन । रात क्रमशः कालो हुँदैछ । 

(ज) शहीदहरू (कृष्ण शाह यात्री)
लघुकथासार –
सहिदलोकमा सहिदहरूको सम्मेलनमा दशहजार एक नं. देखि माथिका धेरै सहिदहरूले आफूआफू क्रान्तिमा होमिएर, सडक दुर्घटनामा परेर, डाक्टरहरूको लापर्बाहीले, प्रहरीले कुटेर, जेलभित्र ग्याङ्गफाइट भएर, सर्पले टोकेर, लोग्नेले हत्या गरेर सहिद भएका कारणहरू बताइरहेका सन्दर्भमा धेरै पहिलेदेखि त्यहाँ आएको र देशको बेरोजगारी अभाव, अव्यवस्था, कुशासन आदिका कारण मरेको त्यस सहिदलाई राज्यले सहिद घोषणा नगरेको कुरा बताएको छ । 
विचारवाक्य –‘म मर्नुको एउटै मात्र कारण राज्य नै थियो ।त्यसैले मलाई राज्यले कहिल्यै सहिद घोषणा गरेन ।’

(झ) अन्तिम इच्छा – (श्री बाबु कार्की उदास)
लघुकथासार –
नोकर रामबहादुरलाई मेमसाहेबले खाना बनाउन र साडीमा र अरु कपडामा आइरन लगाउन  अह्राउँछिन् । ऊ फटाफट अह्राएको काम गर्छ । जिउ दुखेकोले मालिस गरिदिन पनि अह्राउँछिन् । उसले डराउँदै अर्धनग्न मेम साहेबलाई मालिस गर्छ र अन्त्यमा अर्को प्रस्ताव राख्छिन् र अन्त्यमा ढोकाको छेस्किनी लगाए नलगाएको सोध्छिन् । 
विचारवाक्य – पुनः मेमसाहबको मधुरो आवाज रामेको कानसम्म आइुपुग्यो – ए रामु ढोकाको छेस्किनी त लाइस् ?

(ञ) टिप्पणी (डम्बर रसिक भारती)
लघुकथासार – 
विनय कस्तो मान्छे हो भन्ने बारेमा ‘म’ पात्रले साथीहरूका बीच प्रश्न फिँजाउँछ र विनयलाई रञ्जितले किरन्टोकी, विनोदले एकलकाँटे घुसघुसे, रोशनले अत्यन्त गरीब र सरोजले अत्यन्त विनयी र निस्वार्थी भनी टिप्पणी गर्छन् । ‘म’ पात्रले विनयलाई होइन अरुलाई चिन्छ । 
विचारवाक्य –मलाई योभन्दा अघिबढ्नु थिएन किनकि विनय त मैले राम्ररी चिनेको मान्छे हो नि, बरु मलाई त रञ्जित, विनोद, रोशन, सरोज लगायतलाई पो चिन्नु थियो । 

(ट) संस्कृत (सिन्धु गौतम)
लघुकथासार –
छोराछोरीले म पात्र (बुबा) घरमा पस्नेबित्तिकै छिटो फ्रेस भएर बेडमा राखेको ड्रेसमा छिटो तयार हुन र गोजीमा टन्न गाँठ राख्न जिद्दी गर्छन् । अनभिज्ञ बाबुले कहीँ पार्टीमा जानुछैन, किन ? भनेर सोध्दा छोराछोरीले न्युइयर सेलिब्रेट गरेर फेसबुकमा राख्न होटेल अन्नपूर्णमा टेबल बुक गरिसकेको कुरा गर्छन् । बुबाचाहिँले चैत्र मसान्तमा त तिमीहरू यस्तो प्लान गर्दैनौ भन्दा छोराछोरीसबै कुरामा विदेशी प्रभाव परेकाले फेस्टिभ मुड नबिगार्न भन्छन् । बुबाचाहिँ खल्तीको बालेट टेबुलमा राखेर भित्र पस्छ । 
विचारवाक्य –खल्तीको बालेट टेबुलमा राखेर म भित्र पसेँ । ‘तिमीहरू मात्रै जाओ ।’

(ठ) औँठी(सुष्मा मानन्धर)
लघुकथासार –
भतिजो बिहानै काकाकहाँ पुग्छ । काका ट्वाइलेटमा हुन्छ । भतिजोले सोफामुनि औँठी खसेको देख्छ र टिपूँनटिपूँको दोधारमा पुग्दै टिपेर खल्तीमा राख्छ । काका ट्वाइलेटबाट निस्केको एकछिनमा ऊ घर जान्छ । औँठी चोरेकोमा मन पोल्छ निदाउन सक्दैन र फिर्ता लगिदिन तीन दिनपछि पुनः जान्छ । काकीले सय रूपैयाँको औठी हराएको कुरा गर्दा थाहा नदिईकन औँठी सोफामुनि नै राखिदिऊँ कि नराखिदिऊँ भन्ने सोच्दासोच्दै चिया लिएर काकी आउँछिन् । 
विचार वाक्य –भित्र खल्तीमा गढिरहेको औँठी निकालूँ कि ननिकालूँ ? उसले निर्णय नगर्दै काकी हातमा चिया लिएर आइपुगिन् । 

(ड) सम्मानपत्र(श्रीराम राई)
लघुकथासार –
मनबहादुर जग्गा दान दिएकाले दुर्गम ठाउँमा भव्य अस्पताल बन्छ । उद्घाटनका दिन प्रमुख अतिथिलगायत सबैले मनबहादुरको प्रशंसा गर्छन् र उनी फूलमालाले ढाकिन्छन् । बेलुका फुरङ्ग हुँदै श्रीमतीसँग अब कसैले उपचार नपाएर मर्न नपर्ने कुरा गर्छन् । एकदिन छानाबाट लडेर मनबहादुरलाई उपचार गर्न सोही अस्पताल पु¥याउँदा धरौटी राख्न नसकेर उनको उपचार हुँदैन । जडिबुटीका भरमा अशक्त भएर बाँँच्छन् र सम्मान पत्रतिर हेर्छन् । 
विचारवाक्य –सम्मानपत्र ! तिमीले त आँसु झार्नु पर्दैन नि ?

(ढ) नाक (दिव्य गिरी) 
लघुकथासार –
‘ऊ’ नारीपात्रले महिना पुग्न लागेको छोरोलाई तेल घसिरहेका बेला मखमलीले छोराको नाक त माथि बस्ने विवेक सरको जस्तै छ, भनेर टिप्पणी गर्छे । त्यही बेला विदेशमा रहेको लोग्नेले छोरो तिमीजस्तो छ कि म जस्तो ? भनेर फोन आउँछ र उसले तपाईँजस्तै छ भन्छे । त्यही बेला घरबेटी आमैले दूधमा टाँसेर खुवाउनु हुँदैन नाक थेप्चो हुन्छ भन्छिन् र उसले झन बढी टाँसेर दूध खुवाउँछे । 
विचारवाक्य –ओढ्नेले छाती छोपी, अनि पहिलेको भन्दा पनि अझ बढी टाँसेर छोरोलाई दूध चुसाउन थाली, 

(ण) कुमारी आमा (देवा अधिकारी)
लघुकथासार –
एउटै आमाका सन्तान पनि फरकफरक अनुहार र स्वभावका भएकाले शङ्का लागेर छोराहरूले रक्तपरीक्षण गर्छन् । कुनैसँग पनि आमाको रगत मिल्दैन । छिमेकीहरूले पनि आमाको चरित्रमाथि शङ्का गर्छन् । छोराहरूले पनि चरित्रहीन ठानेर आमालाई छोड्छन् । आमाको मृत्युको खबर सुनेपछि जे भए पनि माया गरेर पालेकी हुन् भनेर काजकिरिया गर्न पाँचैभाइ जम्मा हुन्छन् । आमाले बन्द खाममा सबैलाई पत्र लेखेकी हुन्छिन् र अरुले बेवारिस अवस्थामा फालेका बच्चा उठाएर पालेकी हुनाले आफू कुमारीआमा बन्नुपरेको रहस्य खोल्छिन् र छोराहरू रुन्छन् । 
विचारवाक्य – रगत अर्काको भए पनि मुटु मेरो थियो । सक्छौ भने मलाई माफ गर है । उही तिमीहरूको कुमारी आमा । 

(त) सिमानामा आमा (खेमराज पोखरेल)
लघुकथासार –
म पात्र बाटामा हिँड्दैगर्दा एकजना बुढीआमैले बार बार्न थालेको देख्छ र आमालाई बार्नुको कारण सोध्दा साङ्ला, मुसा, साँप आदिले दुःख दिएकाले विष राखेर बार बार्न लागेको बताउँछिन् । उदासीको कारण सोध्दा पुर्खाको सृष्टि थाम्ने सन्तानहरू डाँडापारिको आकाशमा छन् कि भनेर सोचेको कुरा बताउँछिन् । अर्थात् नेपाली युवाहरू विदेसिएकामा उनलाई चिन्ता छ । उनी यस कुरामा प्रतिवाद गर्छिन् र ऐतिहासिक दृष्टान्त प्रस्तुत   गर्छिन् । 
विचारवाक्य –फिरङ्गी बलियो छ भनेर नजुधेको भए यो सृष्टि रहन्थ्यो र बाबु । 

यहाँ उदाहरण लिइएका वा विवेचना गरिएका लघुकथाहरूमा विचारवाक्यको उपस्थापन कहीँ कसिलो ढङ्गबाट र कहीँ खुकुलो ढङ्गबाट गरिएको छ । विवृत किसिमले समापन भएका लघुकथामा विचारवाक्य कसिलो हुन्छ भने संवृत समापन भएका लघुकथामा विचारवाक्य खुकुलो हुन्छ । यहाँ दिइएका उदाहरणमध्ये (क) देखि (घ) सम्मका विचारवाक्य कसिला छन्; किनकि तिनमा लघुकथालेखकले आफैले निर्णय दिएर स्पष्ट पारेको स्थिति छैन (ङ) मा चाहिँ कसिलो त छ तर पछि यस्तो हुन्छ भन्ने कुराको सङ्केतले अर्थलाई गम्भीर नबनाएको हुँदा विचारवाक्य केही खुकुलिएको छ । उदाहरण (च) मा पनि विचारवाक्य कसिलो छ तर त्यसका लागि कार्यकारण सम्बन्ध औचित्यपूर्ण भएर आउन सकेको छैन । उदाहरण (छ) मा विचारवाक्य खुकुलो छ र समापन विवृतितिरभन्दा संवृतितिर उन्मुख छ । उदाहरण (ज) मा व्यङ्चेतनालाई प्रभावकारी बनाउन खोजिएकाले विचारवाक्यको कसिलोपनमा थोरै क्षति पुगेको छ । उदाहरण (झ) मा विचारवाक्य कसिलो छ तर त्यसको पूर्वापरसम्बन्धलाई चाँडै आकस्मिक बनाइएको छ । (ञ) मा विचारवाक्य लामो भएकाले प्रभावकारितामा क्षति पुगेको छ । उदाहरण (ट) मा विचारवाक्य कसिलो त छ तर कार्यकारण सम्बन्ध राम्ररी नखुलेकाले रहस्यात्मकतामा अलिकति क्षति पुगेको छ । उदाहरण (ठ) मा द्वन्द्वको मनस्थिति बढी हाबी भएकाले विचारवाक्य अपेक्षाकृत कसिलो बन्न सकेको छैन । उदाहरण (ड) मा विचारवाक्य बढी संवेदनात्मक भएर कथ्यको परिपोषक हुननसकेकाले खुकुलो हुन पुगेको छ । उदाहरण (ढ) मा विचारवाक्य प्रभावपूर्ण बनेर आएको छ, शृङ्खला मिलेको छ र कसिलो छ । उदाहरण (ण) मा विचारवाक्य निकै लामो छ । छोराहरूलाई आमाले लेखेको पत्र पूरै विचारवाक्य नै हो तर त्यसमा पनि माथि उल्लेख गरिएको विचारवाक्यले कसिलो बनाएको छ र खुला समापन पनि छ । पत्र पूरै पढेपछि मात्र लघुकथाको कथ्य खुल्ने भएकाले लघुकथाको तीव्रतामा भने आंशिक क्षति पुगेको छ । उदाहरण (त) मा संवृत समापन छ र विचारवाक्य कसिलो छ तर विचारवाक्यका लागि संवादात्मक पृष्ठभूमि अलिलामो भएकाले कथात्मक मूल्यमा त्यति सचेतता देखिएको छैन तर विचारवाक्य अपेक्षाकृत कसिलो छ । 
माथि उदाहरणमा दिइएका लघुकथासारबाट प्राप्त हुने कथासूत्र÷घटनासन्दर्भ र विचारवाक्यका बीच सन्तुलन भने राम्रो देखिन्छ । लघुकथालाई प्रभावकारी तीव्र र कलात्मक बनाउन विचारवाक्यले महŒवपूर्ण भूमिका खेलेको हुन्छ भन्ने कुरा माथिका उदाहरणले स्पष्ट पारेका छन् । 

४. निष्कर्ष
लघुकथा लघुतम आयामको आख्यान हो । यसको निकटता छोटाकथा र सूत्रकथासँग हुन्छ । सङ्क्षिप्तताभित्र स्वयम्पूर्णता र विचारवाक्यको प्रभावपूर्ण उपस्थापन लघुकथाका मुख्य विशेषता हुन् । लघुकथामा आउने विचारवाक्य भनेको बीजवाक्य हो र यसको सम्बन्ध लघुकथाको केन्द्रीय कथ्यसँग हुन्छ । कथ्यलाई प्रभावोत्पादक बनाउनका लागि विचारवाक्यलाई रहस्यको उद्घाटक बनाएर प्रस्तुत गर्नु आवश्यक छ । लघुकथामा विचारवाक्यको उपस्थापन गर्ने विधि भनेकै संवृत र विवृत हुन् । संवृत ढङ्गबाट लघुकथा समापन गर्दा अर्थ निर्धारित हुने र लेखकले प्रायः निर्णय दिने भएकाले लघुकथा सुगठित हुन पाउँदैन तर विवृत ढङ्गबाट लघुकथा समापन गर्दा अर्थलाई खुला छाडिने, अर्थ लगाउने जिम्मा पाठकलाई दिइने र लेखकले आफै निर्णय नदिने भएकाले लघुकथा सुगठित हुन्छ । माथि दिइएका लघुकथाका उदाहरणहरूले यो कुरा स्पष्ट पार्छन् । 

सन्दर्भसूची 

गौतम, लक्ष्मणप्रसाद (२०७२), लघुकथाको रचनाविधान, काठमाडौँ  : लघुकथा समाज । 
गौतम, लक्ष्मणप्रसाद र ज्ञानु अधिकारी (२०६९), नेपाली कथाको इतिहास, काठमाडौँ  नेपाल प्रज्ञाप्रतिष्ठान । 
भट्ट, पुष्करराज (२०७३), नेपाली लघुकथामा युगचेतना, अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध, त्रि.वि. मानविकी तथा सामाजिक शास्त्र सङ्काय, कीर्तिपुर । 
रोदन, श्रीओम श्रेष्ठ, (सम्पा.) (२०७४), आजका लघुकथा, काठमाडौँ  लघुकथा समाज । 
मधुपर्क, लघुकथा विशेषाङ्क–२०७४ । 













































































































No comments:

Post a Comment