Monday, May 11, 2015

इलाममा नारीकथा लेखन सम्बन्धी गोष्ठी सम्पन्न


नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा रमाकृष्ण सिर्जना प्रतिष्ठानको आयोजना र भानु प्रतिभा संरक्षण तथा साहित्य सम्बद्र्धन समितिको सहयोगमा यही २०७१ साल चैत्र १७ गते इलाममा समकालीन नेपाली नारी कथाकारहरु र लेखन प्रवृत्ति विषयक गोष्ठी सम्पन्न भयो । साहित्यकार लक्ष्मी उप्रेतीले प्रस्तुत गर्नु भएको उक्त गोष्ठीपत्र माथि साहित्यकार केदार शर्माले टिप्पणि गर्नु भएको थियो । 

स्थानीय संस्था भानु प्रतिभा संरक्षण तथा साहित्य संबद्र्धन समितिका अध्यक्ष विमल वैद्यको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता वरिष्ठ स्रष्टा माधव भण्डारीले गर्नु भएको थियो । इलामका अग्रज व्यक्तित्व युद्धप्रसाद बैद्यलाई सम्मान गरिएको उक्त कार्यक्रममा काठमाडौँबाट सहभागी भएका स्रष्टाहरु जलेश्वरी श्रेष्ठ, जयदेव भट्टराई, तुलसीहरी कोइराला, रामप्रसाद पन्त, डा. दुर्गाप्रसाद दाहाल, ठाकुर शर्मा, ललिता दोषी र स्थानीय स्रष्टाहरु प्रवेश शर्मा, अन्वेष राई, प्रतिमा पौडेल, डिवी इलामे, दिवाकर भण्डारी, सिर्जना राई, झरना राई, डा. देवी क्षेत्री दुलाल, शिव अधिकारी देवी भट्टराई लगायतले रचना वाचन गर्नु भएको थियो । 

कार्यक्रमका विशेष अतिथिहरु नेपाल साहित्यिक पत्रकार सङ्घका सभापति रोचक घिमिरे, रमाकृष्ण सिर्जना प्रतिष्ठानका अध्यक्ष महेन्द्र गुरुङ र नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद्का सदस्य तथा गद्य आख्यान विभागका प्रमुख मातृका पोखरेलले समकालीन साहित्यका बारेमा आ–आफ्ना विचारहरु प्रस्तुत गर्नु भएको थियो ।

======================================================


नेपाल प्रज्ञा प्रतिष्ठानसंगको सहकार्यमा रमा–कृष्ण सिर्जना प्रतिष्ठानद्धारा २०७१ साल चैत्र १७ गते  इलाममा आयोजित समकालीन नेपाली नारी कथाकार विषयक गोष्ठीमा प्रस्तुत कार्यपत्र । 

   समकालीन नेपाली नारीकथाकार र कथा लेखन प्रवृत्ति                                 
                                  लक्ष्मी उप्रेती
विषय प्रवेश :
     कथा सुन्ने र भन्ने परम्परा पुरानै भएता पनि स्वतन्त्र रुपले नेपालमा कथाको इतिहास १९ औं शताब्दीदेखि मात्र आरम्भ भएको पाइन्छ । कथा साहित्यमा समय र सहभागीताका दृष्टिले पुरुषका तुलनामा नारी अलि पछि र संख्यामा केही कम भएता पनि नारीको योगदान महत्वपूर्ण रहेको छ । सम्वत् १८२७ को शक्ति वल्लभ अर्यालको महाभारत विराट पर्व (नेपाली अनुवाद)बाट आरम्भ भएको नेपाली कथाको १४४ वर्ष र शारदा प्रकाशनको दोश्रो वर्ष १९९२ मा प्रथम नारी कथाकार तुषार मल्लिकाको सहभागिताबाट सुरु भएको नारी कथाकारको लगभग ८० वर्ष र २००५ देखि देवकुमारी थापा, फलेन्द्र जगतकुमारी राणा, राधिका राय, शशिकला शर्मा हुँदै पारिजात, प्रेमा शाह, बाट उर्वर बनेको कथायात्रामा हामी यात्रारत छौं ।
    कुनै पनि कामका लागि समयको पारख संगै त्यसको श्रेष्ठता ठहर गरी समसामयिक स्थितिवोध गर्दै लेखिने साहित्यले नै समकालीन लेखनमा क्रमिक विकास गर्छ । समयको जुनसुकै अवधि र युगमा घटेका अनेकन राम्रा, नराम्रा घटना र त्यसको सिमाभित्रका सान्दर्भिक विषयवस्तु बुझाएर साहित्य लेख्नु समकालिन चेतना हो । कुनै निश्चित अवधि मात्र समकालिनताको मानक नभई हिजो देखि नै चलिआएको निरन्तरताको प्रवाह आजसम्म चल्नुलाई समकालिन अवस्था मान्नु पर्ने हुन्छ । समयको बोध गर्दै भूत र वर्तमानका बैचारिक चेतनालाई सुन्दर रंगसंगैै शब्द खेलाउदै कथा लेख्नु समकालीन कथाको एउटा स्वरुप मान्न सकिन्छ ।
    विज्ञानको विकाससंगै संचार माध्यमले इमेल र इन्टरनेट अझ मोवाईलको स्क्रिनमा सिमित रहि खुम्चिदै, साँघुरिदै गएको विश्व परिवेशको विचरण गरेर लेखिने यथार्थाता समकालीन साहित्यका उपलब्धी हो । नेपाली कथा साहित्यमा निराशा, कुण्ठा, डर, त्रासा, शंखाका आवाज २० पछि ३० को दशकमा अलि बढी आए भने ४० को दशकमा देशमा भइरहेका अनेक विकृति र विसंगति जस्ता विविध विषयमा केन्द्रित कथा लेखिए । शैली र कथानकताको प्रयोगशील प्रस्तुती जीवन दृष्टिबाट देखिने बहुलवाद, अलगिदो र टुक्रिदो पारिवारिक विषयका कथा लेखनमा ५० अझ ६०को दशक पछि त नारीकथाकारहरु संख्यात्मक र गुणत्मक रुपमा ह्वात्तै बढे ।
    समकालीन सन्दर्भको विचरण यहाँ नेपाली नारी कथाकारहरूको लेखनी बारे छ । तर “समकालीन नेपाली  नारी कथाकार र कथा लेखनप्रवृत्ति” विषयक यो आलेख प्रारम्भिक रुप मात्र हो ।
नेपाली कथासाहित्यको आधुनिक काल र समकालीन नारी कथाकारहरू
      नेपाली साहित्यमा नारी लेखनको प्रारम्भ यदाकदा मल्लकालीन युगदेखि भएको पाइएता पनि १९९० को दशकपछि नारीहरू फुटकर कथा सिर्जना गरेर प्रकाशनमा आउन थाले । २००७ सालको राणाकालीन अन्त र प्रजातन्त्रको प्रारम्भिक विन्दुबाट नारी स्रष्टाहरूको लेखनमा विधागत प्रवृत्ति आयो । खास त नारी जागरणमा शिक्षा संगै साहित्य सिर्जनामा नारीहरूको जमात आशारत भएका पाइन्छ ।
      विश्व साहित्यमा आधुनिकता को मानक र सिद्धान्तका ब्याख्या अनेक छन् । नेपाली साहित्यमा पनि आधुनिकता बारे विभिन्न विद्धानहरूमा विभिन्न मत देखिन्छन् । साहित्यिक मर्यादालाई ध्यानमा राखेर सरसर्ती हेर्दा नेपालमा शारदा पत्रिकाको प्रकाशन पछि आधुनिक कालको साहित्य विधागत रुपमा स्वतन्त्र अस्तित्वका साथ लेखिन थालेको देखिन्छ । त्यसैले १९९० को दशक पछिलाई कथा लेखनको आधुनिक काल मान्ने जमातको धारणा नै सान्दर्भिक ठहरिन्छ । समसामयिक घटना र विचारको बौधिक अनुभूतिसंगै ब्यक्तिगत अस्तित्ववादी चिन्तनको खोजी आधुनिक कथासाहित्यको विशेषता हो । स्वतन्त्रता, समानता, आत्मा सम्मान, माया, प्रेम, अहम, घृणा जस्ता मानवीय स्वभावका भावहरू मिश्रित कथालेखन आधुनिक कालको कथासाहित्यको रुप हो ।
     समकालीन चेतना वि.सं.२०३६ को जनमत संग्रहपछि वैचारिक धरातलमा साहित्य मार्फत संघर्षको आवाज प्रवाह गर्न पुरुषसंगै नारी साहित्यकारहरू पनि लागि परे । त्यस्तै २०४६ को जनआन्दोलनले त साहित्य लेखनको प्रवृत्तिमा नै फरक शैलीको विकास भयो । त्यसरी नै जनयुद्ध पछि नारी कथाकारहरू पनि वैचारिक द्धन्द्धबाट अभिप्रेरित भई बौद्धिकता संगै कलात्मक रंग भर्दै प्रयोग र वादका विभिन्न तहमा पुगेर नारी कथाकारहरूले आफ्नो लेखकीय क्षमतालाई अघि सारे । फलत विसंगति वाद, लैङ्गिक चेतना, विनिर्माण वाद, अस्तित्ववाद, युद्ध र द्धन्द्धको चिन्तन आदि विषयका कथा लेख्ने नारी कथाकारको जमात पनि आशारत भयो । समानताका र स्वतन्त्रताका आवाजहरू निसंकोच समयकालीन नारी कथाकारहरूले लेख्न थाले । समयले विस्तारै नारी कथाकारहरूलाई विचार र चेतना संगै अस्तित्व र पहिचानको सवालले कोपर्न थाल्यो । फलत नारी कथालेखनको धरातल नै फराकिलो बन्यो । अघिल्लो पुस्ताका नारी स्रष्टाहरूले पछिल्लो पुस्ताका नारी स्रष्टालाई न्याय गर्दै हरेक सन्दर्भका विषय वस्तु समावेश गरेर ओझपूर्ण कथा लेखेर नारी कथाकारहरू समकालीन युगका संवाहक बने । अन्याय विरुद्धका, स्वतन्त्रताका, आफ्नो पहिचान र स्वअस्तित्वका, आफ्नो जीवनको अधिकार प्रतिको चिन्तनमा निस्फिक्री भएर लेख्नु नारी कथाकारको कलम शक्ती बन्यो र आधुनिक नेपाली साहित्यको समकालीन रुपरेखा नै तयार भयो । त्यस क्रममा नारी कथाकारहरूले साहसीपन भरिएको समाज सुधारक प्रसंगका कथासंगै  विकृतजन्य कथा पनि लेखे ।
     परम्परागत संस्कृतिका विकृति जन्य संस्कारहरूलाई विस्थापित गरि समाज सुधारका नविनतम मूल्य मान्यतामा मुखारित भएर कथा लेखिनु आधुनिक कालको उपलब्धी मानिन्छ । यस अर्थमा १९९१ देखि सुरु भएको कथा लेखनमा आरम्भ गर्ने नारीमा तुषारा मल्लिका, मोतीलक्ष्मी उपासिका हुदै २००५ पछि देवकुमारी थापा, शशीकला शर्मा, राधिका राय, चन्द्रकला नेवार, विद्यादेवी दिक्षित आदि हुदै पछिल्लो पुस्तामा आईपुग्दा अर्थात २० को दशक पछि पारिजात, पे्रमा शाह, गीता केशरी, माया ठकुरी, भागिरथी श्रेष्ठ, अनिता तुलाधर, भुवन ढुङ्गाना, बेन्जु शर्मा, पद्मावती सिंह, लगायतको लेखनसंगै नेपाली कथासाहित्यकमा लिङ्गभेद गर्न नहुने सशक्त प्रारुख तयार भयो । देवकुमारी थापाको उपस्थितिले मनोविज्ञान लेखनीको स्पष्ट धारणा बोक्यो भने पारिजात सम्म आइपुग्दा प्रगतिवाद र अस्तित्ववादको चिन्तन बैचारिक धरातलमा उभ्यायो । यसरी २० को दशक देखि नै साहित्य सिर्जना सुरु गरी हालसम्म पनि निरन्तर लेख्ने नारी कथाकारहरू त्यस समयका पनि समकालिन नारी कथाकार भए र भरखर लेख्न थालेका नँया पुस्ताका नारी कथाकारहरू पनि समकालीन सर्जक भए । ४० को दशक पछि आधुनिक नेपाली कथासाहित्यमा नारी लेखन अझ ओझ पूर्ण र विश्वब्यापीकरणको धरातलमा हिड्न सक्ने भयो । राजनितक पृष्ठभूमिलाई आत्मासाथ गर्दै अनेक वाद, प्रयोग र धारका कथा लेखनमा नारीहरू पुरुषहरूसंगै सहयात्री बने । त्यसक्रममा इन्दिरा प्रसाई, सीता पाण्डे, मिरा प्रधान रेम, शारदा शर्मा आदि स्थापित छन् भने  जया राई, जलेश्वरी श्रेष्ठ, निलम कार्की निहारिका, तृष्णा कुँवर, लक्ष्मी उप्रेती,  इल्या भट्टराई, सरला रेग्मी, सिमा आभाष, आन्विका गिरी, विन्दु सुवेदी लगायत नारी कथाकारहरुको राम्रो संभावन देखिन्छ ।
समकालिन नारीका कथा लेखन विषय ः
    नारी लेखन नेपाली कथासाहित्यमा शक्तिको रुपमा अघि बढेको पाईन्छ । नेपालीहरूको अराजक प्रवृत्ति, त्याग, समर्पण, आवेश र प्राप्तीका आशारत तरंगको बदला निराशाका परिणामले जन्माएको मानसिकताको उत्कर्षले वाद र प्रयोगको अनेक धारका कथा सिर्जना गर्ने नारी कथाकारहरूको वृद्धि भयो । कथामा स्वतन्त्रताको मानक आजको युगमा आ.आफ्नो तरिकाले प्रस्तुत गरेको पाइन्छ । समकालिन नारी कथाकारका कथाले हरेक कालखण्डको प्रतिनिधित्व गरेको छ । समसामयिक कथा साहित्यका विषय आ.आफ्नो जीवन र परिवेशबाट उत्पन्न हरेक समयका घटना र परिस्थतिको परिदृष्य मान्नु पर्छ । इन्टरनेटले विश्व परिदृश्य क्षणभरमा नै गर्न सकिन्छ त्यो पनि आजको कथा साहित्यको प्रमुख श्रोत भएको पाइन्छ । आफ्नो स्वार्थगत मनोवृत्ति, एकाङ्कीपन, अस्तित्वको खोज,  सहरी जीवनशैलीको बढदो सुबिधमुखी प्रवृत्ति, अविश्वास, निराशा र असन्तुष्टीबाट उत्पन्न चिन्ता आदि बदलिदो समाजको मानविय परिस्थिती, परम्पराको विरोध, तीव्र सहरीकरणको अवस्था, , जनसंख्या बृद्धि र महत्वकाक्षा ,मोह भङ्ग, जीवनका मूल्य र मान्यता, विज्ञानले सम्भव पारेको अनेक प्रसंग सहित विश्व परिवेशका विविध प्रसंगसंग आफ्नो परिवेशको चिन्तन आजका कथाका विषय बनेका छन् । यही क्रममा युद्ध र द्धन्द्धको प्रभाव, उत्तर आधुनिक चिन्तन, जातिय चेत, वर्गिय चेत, स्वअस्तित्वको सिमन्तकृत चेत, बैदेशिक रोजगारीको परिणती, प्रकृतिक प्रकोपका विभत्स घटना आदि चिन्तनका कथा लेखनमा नारीहरू अग्रसर भए । खास गरी द्धन्द्धकालमा घटेका विभत्स घटनाका मार्मिक घाउ, व्यक्तिमा निहित अन्तरविरोधमूखी द्धन्द्धका , भ्रष्टाचारका , चारित्रिक गतिविधिका, जातीय विभेदका, धार्मिक सहिष्णुताका, मानवतावादी चिन्तनका, दण्डहीनताका, राजनीतिक अस्थिरताक, स्वरोजगारका, जनसरोकारका, सरकारका अनुत्तरदायि भूमिकाका, सीमान्तकृत जनताहरूका आवाज, आञ्चलिकताका, समावेशी भावका, सत्तामोहबाट उत्पन्न देशको विविध परिस्थितिका, सामाजिक अन्याय र अत्याचारका विविध प्रसंगका, तराई मधेशका जनजीवनका पाटा,अझ शसक्त रुपमा मानिसकै अस्तित्वमा जीउने अधिकारका, नारी मानसका पहिचानका आदि बारे नारी कथाकारका कथाका विषय बनेका छन् । यसरी अघिल्लो पुस्ताका अग्रज नारी कथाकार र नयाँ पुस्ताका नारी कथाकारहरूले युगको प्रतिनिधित्व गरेर समकालिन कथा लेखनमा जीवनबादी स्वर अभिव्यक्त गरेका छन् । विश्वका अनेक प्रसंग परिवेश र प्रभाव नेपाली कथासाहित्यकारहरुले लेख्ने विषय बनेको छ । तर त्यसमा नेपाली रंगले नै सजाएर नारी कथाकारले लेखिएको पाइन्छ । कला, शैली, शील्प आदिमा नेपालीत्व भाव भरिएको हुन्छ । नारीले लेखेका कथा आफ्नै प्रकृति र प्रवृत्ति लिएर आफ्नै मौलिक रंगमा लेखिनु विशेषता बनेको छ । त्यसैले सैद्धान्तिक रुपमा विश्वसाहित्य को प्रभाव परेता पनि नेपाली कथासाहित्य स्वावलम्वन तिर नै केन्द्रित भएको भन्न सकिन्छ । विचारको शसक्त पक्ष नै समकालीन कथासाहित्यको प्रवल पक्ष बन्यो । देश, काल र परिस्थिति जन्य समसामयिक घटनालाई कथासाहित्य मार्फत सार्वजनिक चेतनाका सामूहिक स्वरहरू नारीहरूबाट विभिन्न कोण, विषय र शैलीबाट लेखिए । यथार्थको नजिक रहेर आफ्नै जीवनको मनस्थित, व्यक्ति चरित्र वा विचारको एउटा अंशको छोटो द्धन्द्ध सहितको सन्दर्भका प्रस्तुती नै आजका नारीकथाकारको कथामा कथानक बनाएको पाइन्छ । तर नारी कथाकारले कथालेखनमा सुधार गर्नु पर्ने अझै प्रशस्त ठाउ छन् ।  
नारी कथाकारमा युगिन चेतना
     २०४६ को जनआन्दोलन पछि युग चेतनाको प्रवृक्तिगत धारणाले आन्दोलित मानसिकतसंगै समकालीन कथासाहित्यमा नारीहरूको जमात बढ्यो । नेपालको राजनैतिक परिवर्तनसंगै स्वतन्त्रता र स्वच्छन्दताका साहित्य लेखिन थाले । जीवन र जगतसंग प्रत्यक्ष अप्रत्यक्ष सरोकार जन्य कुराहरू अविब्यक्त गर्ने अघिल्लो प्रणालीको शैलीलाई पनि चटक्क नछाडि समसामयिक परिपाठीको शैलीलाई अपनाउदै नारीकथाकारको लेखिन अघि सरेको पाइन्छ । चाहना अनुसारका पृष्ठभूमिमा समकालीन कथा लेखिनको प्रवृत्तिले गति लिने क्रममा नारी कथाकारहरू आन्दोलत भए जस्मा राजनीतिक र सामाजिक अवस्थाबाट उत्पन्न मानवका अनेक प्रशंग प्रेम, घृणा, मोहभंगका मूल्यवोध, स्वअस्तित्ववोध, पहिचानका कुरा, गतिशिल परिवेशको चासो, विश्वविमुखीकरणको प्रभुत्व, राष्ट्रियताको रंग, कलात्मकताको चेतना, नविनतम प्रवृत्तिको खोज, परम्परागत विकृति विरुद्धका स्वर, सामाजिक स्थितिलाई सुधार्ने आधुनिक करणको माग र उत्तर आधुनिकताको वैचारिक र वौद्धिक प्रवृत्ति, यथार्थ वादको आकलन, युद्ध र द्वन्दको सन्त्रास, पाश्चात्य मुलुकको प्रभावले पारेका अनेक विषय, समसामयिक जीवनवोध, समजिक जागरण, अन्र्तराष्ट्रिय ज्ञान आदि विभिन्न कुरा समकालीन नारी कथाकारहरूका लागि प्रशस्ती बने । विषयका पृथकतासंगै चेतनाका संवाहक भई नारीहरूबाट समकालीन कथासाहित्य लेखिदै छ ।
      पहिले पुरुषले लेखेका कथामा नारीका पीडाभाव आदर्श भावले उठाएको हुन्थे तर शोषित, पीडित नारीबारे कथा लेखेको पाइन्न । त्यसरी नै नारीले लेखेका कथामा आफ्नो जीवन भोगाइका अध्यारा पक्ष मात्र लेखिएका हुन्थ्यो । तर समयसंगै आधुनिक युगको जटिल परिस्थितिको चेतनाले नारीहरु पनि संवेदित भए । जीवन जीउनेक्रममा अनेक भोगाइका अनुभूति, देशको  परिस्थिति आदि नारीका पनि साझा सवल हुन भन्ने चेतनाको तहमा पुगेपछि नारी सजक हुन थाले । त्यसपछि अन्य क्षेत्रमा झै नारी कथाकारले कथा साहित्यमा नवीनतम स्थितिको खोज गर्न थाले । यहि प्रकृयाबाट उत्पन्न सकरात्मक प्रवृत्तिको बैचारिक लेखनमा समकालिन नारी कथाकारहरू अभिमुख भएको पाइन्छ । यसरि नै विश्वकथा साहित्यमा सहयात्री हुन नारी कथाकारहरू देश–काल परिस्थित र विश्व परिवेशका कथा लेखनमा आकृष्ट भएका छन् । विद्युतीय संचारको विकास र समय अनुरुप वैचारिक दृष्टिकोणमा आएको परिवर्तनसंगै युगिन चेतनाका समसामयिक कथा सिर्जनामा नारी कथाकारहरु सचेत छन् । वर्तमान राजनीतिक र सामाजिक जनजीवनमा भएका विकृतिपूर्ण मानसिकताका विषयमा आफ्नोपनको शैली र स्वादका कथा लेख्ने नारी कथाकारका राम्रा कथा लेखनसंगै केही अकथा पनि देखिएका छन् ।
    कथामा कथाकारको अनुभूति पराईको जस्तो नभई आफैले भोगिरहेको अनुभूति होस् भन्ने पाठकले चाहान्छ । आजको तिव्र गतिमा बढ्नु पर्ने जीवनको बाध्यतासंगै कथामा भन्न खोजेको सटिक कुरा कथाकारले विवरण तिर नअल्मलिकन लेख्ने तर कथाको निचोड पाठकलाई नै निकाल्ने स्थिति पनि छ । कथासाहित्यको विकासमा नारी लेखनीको यस्तो चेतना युग सापेक्ष समकालीन मानक बनेको छ । आफ्नो छुट्टै शैली निर्माण गरेता पनि नेपाली कथा साहित्यमा सकारात्मक बाटो तिर डो¥याउदै आधुनिक कथा पद्धतिको संरचनामा रही कथा लेखिनु नै आजका नारी कथाकारको  दाइत्व हो ।
सांस्कृतिक रुपान्तरणको  चेतना
      साहित्य समाजको विधमान संकृतिक रुपान्तरण गर्ने महत्वपूर्ण माध्यम हो । समाजको रुपान्तकारी भुमिका खेल्न साहित्यले मदत पु¥याउछ भन्नेहरूले समाज रुपान्तरणका विषयहरूलाई जोड दिएर कथा लेख्छन भने समाजको दर्पण हो भन्नेले उहि समाजको परम्परालाई लेख्छन । आफु सम्पूर्ण रुपमा परिवर्तन नभई समाज परिवर्तन गर्न सम्भव नै छैन् । युग सापेक्ष चेतनाको रंग मिसाएर सामाजिक रुपन्तरणको भूमिका निर्भाह गर्दै लेखिएका साहित्य कालजयी हुन्छन् । त्यसैले संस्कृतिक रुपान्तरण र सामाजिक परिवर्तन मनै देखि आफुलाई यथास्थितिबाट अग्रगमन तिर लम्कने संस्कारको विकास गरेर केही नारी कथाकारहरुले केही राम्रा कथा सिर्जना गरेका छन् ।
    विषय वस्तु र शैलीको विविध प्रश्तुतिमा आफूले झलक्क देखेको, भोगेको क्षणको अनुभूति नै कथानकता भएको छ । परम्परागत धारणबाट अलग्गिएर कथानकताका नयाँ शैलीको जटिलताले आजका कथा पढ्ने, बुझ्ने पाठकहरूमा पनि चिन्तनको आवश्यकता हुन थालेको पाइन्छ । नारीकथाकारले आफ्नो समयको परिस्थिति स्वीकार्दै आफ्नो पहिचानका लागि परम्परागत नराम्रो सस्ंकारको विद्रोह गरेर कथा सिर्जना गर्छन । सांस्कृतिक रुपान्तरणका सकारात्मक विषयमा समाज परिवर्तनका अनेक घटना र विविध प्रकृतिका पात्रहरूलाई विचारको शक्ति प्रवाह भइ कथासाहित्यमा पुरुषसंगै नारीको पनि वर्चश्व रहेका पाइन्छ ।
   नारीवादि आन्दोलन पुरुषलाई वहिष्कार गर्न नभई समाजमा नारीलाई गर्दै आएका अन्याय विरुद्धको अस्त्र हो । नराम्रा चलनलाई अन्त्य गरी राम्रो चलनको सुरुवात गर्ने उदेश्य हो । सांस्कृतिक परिवर्तन विना समाजका पिछडिएका वर्ग, जातको उन्नति नहुने भएकाले नेपाली कथा साहित्यमा पनि त्यस्तो विषयमा चिन्तन गरी लेखिने प्रवृतिमा नारी कथाकारहरू आकृष्ट भएका छन् । । समाजमा परिवर्तन ल्याउने सांस्कृतिक सुधारका विविध प्रसंगहरू जस्तै बालविवाह, अनमेल विवाह, छुवाछुत, छाउपडी प्रथा, मानिस माथि भईरहेका अमानवीय व्यवहार, अन्याय, अत्याचार विरुद्धमा अन्य क्षेत्रमा आवाज उठे झैं साहित्य क्षेत्रमा पनि प्रशस्त अभिब्यक्त भएको छ । परम्पराकाल देखि नै शोषित वर्ग नारीहरूमा चेतनाका ज्वारभाटा विस्फोट भए पछि हरेक क्षेत्रमा झैं लेखन क्षेत्रमा पनि नारी कथाकारहरू लागि परेका छन् । वर्तमान समयमा सांस्कृतिक रुपान्तरणको आवश्यकता वोध गरेर समस्त नेपाली बीच, राष्ट्र र राष्ट्र बीच र सम्पूर्ण विश्व समुदाय बीच शान्तिमय समतामूलक र दिगो सम्वन्ध गाँस्ने सम्भवका कथाहरू पनि लेखिन थालेका छन् ।
समकालीन नारी कथाकारका कथामा अस्तित्ववाद
         नारीकथाकारहरु पहिचान र अस्तित्वका सशक्त कथालेखन तिर अग्रसर भएको पाइन्छ । केही नयाँपनको स्वाद, केही नयाँ शैलीको प्रयोग र केही नयाँ विषय प्रति प्रवृष्ट भएर नारीकथाकारहरू लागी परेका छन् । जुन कुराले मानिसलाई पिरोल्छ त्यही कुराको चिन्तनमा लागेर अस्तित्व चेतनाले झकझक्याई आफ्नो लेखनमा संप्रेशित गर्छन । अस्तित्ववादी चिन्तनमा नारीहरूको कलम पछिल्लो समयमा सशक्त चलेको पाइन्छ । राजनैतिक परिवर्तनसंगै नारीहरू अस्तित्वको खोजीमा भौतारिए । फलत मानिस हुनकै अर्थमा अधिकांश नारीहरू सचेतताका साथ लागे ।  आप्mनो लेखनीमा स्वतन्त्रता, समानता र अवसरका कुराहरू अभिब्यक्त हुन थाले । आफूमा चेतना छ भने त्यसको चिन्तनसंगै सामाजिक मूल्यमान्यताको वोध गरेर कथा लेखनमा नारी कथाकारहरूको ब्यापक उपस्थिति भएको छ । माओवादी आन्दोलनको प्रभावबाट विभिन्न विषय र शैलिका कथाहरु नारी कथाकारले लेखेका छन् । तर यसमा पनि अझै प्रयाप्त छैन् । २०४६ को जनआन्दोलन पछि र जनयुद्ध पछि युद्ध र द्धन्द्धले विचारको घनत्व बढाएर अप्रत्याशित रुपमा नारी कथाकारले गति लिएको पाईन्छ । अस्तित्वको चेतनासंगै राजनैतिक र सामाजिक परिवर्तनका लागि स्वतन्त्रताका साथ लिङ्गभेद, वर्गभेदको अनेक परम्परागत धारणाको विरोध गर्दै वैद्धिक चिन्तनका साथ समतामूलक समाजको निर्माणका कथा सिर्जना गर्न पारिजात, माया ठकुरी, लिला श्रेष्ठ सुब्बा, मन्जु काँचुली हुदै आन्विका गिरी, उषा शेरचन लगायतका अन्य थुप्रै नारी कथाकारहरु अभिमुख भएका छन् ।
     पितृसत्ताको विभेदबाट मुक्तिका लागि , मातृत्व चेतना, वर्गिय चरित्रको प्रतिनिधित्व, नारीप्रति पुरुषको संकुचित धारणा, नारी मुक्तिका आवाज, सामाजिक विसंगति, नारीवादी चेतना, नारी अस्तित्व र अस्मिताका विद्रोहि आवाज, यौन अत्याचार, घरेलू हिंसा र वलत्कारको विरद्धका आवाज, जीवनदर्शनका र प्रगतिवादी धारका नारी कथाकारका कलमबाट प्रस्तुत भएका छन् । समकालीन नारी स्रष्टाले परम्परागत रुढीवादी विरुद्धमा, स्वाभिमानमा, स्वअस्तित्वमा, न्यायमा, धर्ममा, आर्थिक पक्षमा , राजनीतिमा, समानतामा, स्वतन्त्रताका अभिमत राखेर निर्भिकताका साथ कलम चलाएका छन् । समकालीन नारी कथाकारहरूको कथा विश्वको पेरीफेरी देखि लिएर आफ्नै जीवन अस्तित्वसंग गाँसिएर लेख्ने प्रवृत्ति बढेको छ ।    
लैङ्गीक चेतना, यौनिक प्रश्न र समलिङ्गीय सन्दर्भ  
     दोश्रो विश्वयुद्ध पछि नारीहरूमा चेतना आयो तर लैङ्गिक भूमिका उही रयो । नारीको समस्या भनेको मानिसको समस्या हो भन्नेहरूबाट लैङ्गिक भूमिकामा केही सुधार आएको पाईन्छ । नारी साहित्यकारहरू लैङ्गिक चेतनामा अभिप्रेरित भई नारी अस्मिता र अस्तित्वका अनेक विषय आत्मासाथ गरी स्पष्ट धारणा प्रस्तुत गदै साहित्यको माध्यमबाट अघि सरे । नारीका जीवनका अतृप्त इच्छा, आकांक्षाका समग्र कुरा, विभिन्न कारणले योनबाट शोषित भएका नारीहरूको परिदृष्य, नारी विद्रोही भावमा अभिमूख भएर साहित्य सिर्जना गर्ने नारीहरूकै जमात एकाएक बढेको पाईन्छ । अघिल्लो समयका समकालीन नारी कथाकारले यौन समस्यालाई, यौन शोषणलाई र यौनिक इच्छालाई प्रतिकका रुपमा कथा लेखे भने पछिल्लो समयमा आएर यहि विषयमा अलि स्पष्टताका साथ कथामा लेखिदै आएका छन् । यौन साहित्यमा कलम चलाउने समकालीन नारी साहित्यकारहरूको शैलीगत कला सहज र सुन्दर छ । पाश्चात्य संस्कृतिसंग प्रभावित भएर यौन साहित्यमा कलम चलाएता पनि नारी कथा लेखनको पृष्ठभूमि, पात्र, परिस्थिति र रंग नेपाली समाजकै पेरिफेरीमा रहेके छ । पुरुषहरु कै माझकी एक्लो योद्धा पारिजातको अतृप्त योन आकांक्षाको भाव मैले नजन्माएको छोरो, भूवन ढुङ्गानाको राले र पे्रमा शाह, बेन्जु शर्मा, ईन्दिरा प्रसाई, सिता पाण्डे, जलेश्वरी श्रेष्ठ, लगायत अन्य थुप्रै नारी कथाकारका कथाहरु उदाहरणका रुपमा छन् ।
   सृष्टी संचलनको प्रकृयालाई निरन्तर चलाउनका लागि समाजले नारी–पुरुष विच बैवाहिक वैधता दिएर जैविक चाहना परिपूर्तिका साथै सन्तान बृद्धि गर्ने नियम बाँधेको छ । तर समयसंगै आएको मानवको नवीनतः स्वभाव र चाहनासंगै स्वलिङ्गी जैविका आकर्षणले एउटा विग्लै वर्गको जमात स्थापित भएको छ । ब्यक्तिगत निराशा र कैतुहलताका कारण यस प्रकारको मनोबैज्ञानिक चिन्तनले ब्यापकता छाएको छ । नारी–नारी बीच र  पुरुष पुरुष विचको रागात्मक सम्वन्ध संचालन विश्व परिवेशमा मात्र नभई नेपालको सामाजिक रुपमा स्वीकार्य नभएपनि प्रायः अव स्पष्ट रुपले आफ्नो उपस्थिति जनाउन थालिसकेका छन् । सम्भवत सदियौं पहिले देखि चलेको तर लुप्त अवस्थामा नै रहेको यो पद्धतिका रुपमा देखिएको विषयमा पनि साहित्य लेखिन थालिएको छ । संसारका मानवीय गुणमा देखिएको समलिङ्गीय चेतनाका कथा सिर्जना गर्ने नारी समलिङ्गीय र पुरुष समलिङ्गीय विषयमा भागीरथी श्रेष्ठ, हरिमाया भेटुवाल लगायत अन्य थुपै्र नारी कथाकारहरु पे्ररित हुदै गएको पाइन्छ ।
    समकालीन नेपाली साहित्यमा जिवन र जगतका विविध पक्षको विषय उठान गरी लिङ्गभेदको मापन नगरी समकालीन लैङ्गीत चेतना, यौनिक र समलिङ्गीय सन्दर्भका लेखनमा  थुप्रै नारी कथाकारले दह्रो उपस्थिति जनाएका छन् ।
राजनीतिक चेतना र युद्ध र द्धन्द्धको प्रभाव      
    २००७ सालपछी नेपाली साहित्यको आधुनिक कालको प्रहर भनिएता पनि २०४६ जनअन्दोलन पछीको प्रभावले आन्दोलीत मानसीकतामा युग चेतनाको प्रवृत्तिगत धारणासंगै लेखनमा समकालीन नारी साहित्यकारहरू शसक्त भए । राजनीतीक पृष्ठभुमिलाई आत्मसाथ गर्दै पूर्ण प्रजातान्त्रीक प्रणलीको प्रतिक्षाले चिन्तीत साहित्यकारहरूमा निराशा जनक मानसीक उत्कसबाट अनेक वाद, प्रयोग र चिन्तनका साहित्य समकालीन नारी स्रष्टाहरूले सृजना गरे । २०३६ देखि सुरु भएको भनिएको समसामयिक गति २०४६मा देशमा भएको राजनीतिक परिवर्तनको बहुलवादी चिन्तनका कारण नेपाली कथा साहित्यमा बैचारिक परिवर्तनसंग दृष्टिकोण र छुट्टै शैलीका साथ नारीहरूको प्रवल सहभागिता ५० दशक पछाडि अर्थात माओवादी जनयुद्धको लहरले नेपाली नारी कथाकारहरूको आशारत उपस्थितिसंगै अस्तित्वरत चेतनाको लहर फैलियो । त्यस्तै २०६२÷०६३ को आन्दोलन र लोकतन्त्र, गणतन्त्र प्राप्ती अनि त्यस पछिको देशको असन्तोष परिस्थितिका विविध सन्दर्भका विषयहरू नारी कथाकारले प्रमुखताका साथ ग्रहण गरे । जनयुद्धका विषयमा नारी कथाकारहरू वैचारीक द्धन्द्धबाट अभिप्रेरित भई बौद्धीकतासंगै कलात्मक रंग भरेर प्रयोग र वादको चिन्तनका कथा लेखनमा मुखारित भएका छन् । प्रजातान्त्रिक पद्धति, समानता र स्वतन्त्रताका पहिचान र स्वअस्तित्वका आवाजहरू  निसंकोच  समकालीन नारी कथाकारले लेखे । साहित्यका विविध विधा र विषयको उठान गरि प्रयोग र वादका विभिन्न तहमा पुगेर युद्ध र द्धन्द्धको चिन्तन, समयसंगै अन्याय विरुद्धका आवाज, स्वतन्त्र अस्तित्वका स्वर, आफ्नो जिवनको अधिकार प्रतिको चिन्तनमा निस्फिक्री भएर लेख्नु नारी लेखन धर्म जस्तै बन्यो । यो युग सपेक्ष भएर नारी लेखनले प्रमुखता पायो र साहित्य जगतकै उपलब्धी पनि बन्यो  । आधुनिक नेपाली कथासाहित्यको समकालीन रुपरेखा देशका समसामायिक राजनितिक कालखण्डलाई प्रतिनिधित्व गर्ने भावका कथा लेखनमा माया ठकुरी, शान्ता श्रेष्ठ, सरला रेग्मी, बविता बस्नेत, आन्विका गिरी लगायतका थुपै्र नारि कथाकारहरु अग्रसर छन् ।
    विश्वब्यापीकरण र साइबर प्रभावित कथा
       समय परिवर्तनशील छ । परिवर्तन जहाँ  पनि दिनानुदिन भईरहेको छ । विज्ञानको विकास र विस्तारमा प्रविधिले परिवर्तनका नयाँ नयाँ आयामहरू क्षणभरमा नै थपि रहन्छ । तर जति छिटो परिवर्तनका स्वरुप बन्छन् त्यति नै अस्थिर छन् । विश्वब्यापीकरणको प्रभावले नेपाली कथाकारहरू विश्व साहित्यमा आकर्षित हुदै गएका छन । । अनुवादका माध्यमबाट नेपाली नारी कथाकारहरू पनि विश्वब्यापीकराको छेउमा प्रवेश गरी सकेका छन् ।  विद्युतिय प्रवृत्तिको माध्यमबाट इन्टरनेटले विश्वपरिवेशको भूगोल घर, आगन भित्रको सानो क्षेत्र बनेको छ । समकालीन नारी कथाकारहरूको लेखन पनि यता तिर निर्दिष्ट हुदै गएको छ । प्रविधिले नेपाली कथा साहित्यको जगतलाई निकै फराकिलो बनाएको छ । नेपाली साहित्यमा साईवर संस्कृतिको प्रयोग प्रशस्त हुन थालेको छ ।  कही थोरै कही धेरै साइवर प्रविधिका विषयसंग अभिप्रेरित भई कथा लेखनमा इन्दिरा प्रसाई, जलेश्वरी श्रेष्ठ, लक्ष्मि उप्रेती लगायत अन्य नारीकथाकारहरू पनि केन्द्रित हुन थालेका छन् । अब नेपाली साहित्यमा साइवर संस्कृतिबारे लेख्ने र अध्ययन अलि बढी हुन आवश्यकता भएको छ ।
 डायस्पोरिक चिन्तन
   अनेकन कारण र व्यवहारले नेपालीहरू  चरण चरण गरेर विश्वका विभिन्न मुलुकमा विस्तार भई बसोबास गरिरहेका छन् । बर्षौ पहिला देखि नेपालीको विदेशिने क्रम आज झन ब्यापक भएको छ । विदेशिएर स्थायी रुपमा बसोबास गर्ने नेपालीहरूको साहित्य, कला र संस्कृतिमा चासो र रुचि बढिरहेको छ । साहित्य, संस्कृति र कलाको चेतना जहाँ भए पनि हरेक मानिसमा सधै रहन्छ । उनीहरू आफ्नो देश र बसोबास गरिरहेको देशको स्थितिको वातावरणमा संवेदनशील मनले आफ्नो अनुभूति संपेषण गरी साहित्य सिर्जना गर्छन । त्यस्तै दुवैतिरको उज्यालो अध्यारोको अनुभूति गरेर डायस्पोरिक चेतनाका कथालेख्ने मिरा रेम प्रधान, जया राई, निलम कार्की निहारिका, सन्जु बजगाई लगायत केही समकालीन नारी कथाकारहरू आकर्षित हुदै छन् । तर यस विषयमा यसबेला केही विमर्शका, विवादका कुराहरु चल्न थालेको पाईन्छ ।
सारांश
    .देशमा भएका आमूल परिवर्तनले जन्माएको अस्तित्ववादी चिन्तन, राजनीतिक र सामाजिक अवस्था, प्रेम, घृणा, मोहभंग, मूल्यवोध, गतिशिल परिवेशको चासो, विश्वविमुखीकरणको प्रभुत्व, राष्ट्रियताको रंग, परम्परागत गलत धारणा विरुद्धका स्वर, सामाजिक स्थितिलाई सुधार्ने आधुनिक करणको माग र उत्तर आधुनिकता वादको वैचारिक र वौद्धिक प्रवृत्ति, शून्यवाद, प्रयोगवाद, प्रगतिवाद, स्वच्छन्दतावाद, योनमनेविज्ञान, समलिङ्गिय चेतना, आशावादि स्वर, प्रकृति विपत्ति, आञ्चलिकता,  यथार्थ वादको आकलन, युद्ध र द्वन्दबाट उत्पन्न सन्त्रासका भयवह चित्र, पाश्चात्य मुलुकको प्रभाव, समसामयिक जीवनवोध, सांस्कृतिक रुपान्तरण,  आदि विभिन्न कुरा समकालीन नारी कथाकारहरूले लेख्ने विषय बने । आफूले भोगेका आफ्नो जीवनका अध्याँरा, उज्याला पक्ष सार्वजनिक गर्नु जोखिम कुरो हो तर यस्तो जोखिम संग नडराई आफ्नो जीवन भोगाईका कथा लेखेर समकालीन नारी कथाकारहरू अब सार्वजनिक हुन थालेका छन् ।
     २०४६ को जनआन्दोलन पछि नेपालको जनयुद्ध र त्यसको प्रभावबाट बैचारिक द्धन्द्धको चिन्तनमा अग्रसर भएर आर्थिक, राजनैतिक, सामाजिक जीवन पद्धतिमा नेतृत्व वर्गका स्वार्थगत धारणाहरूलाई अघि सार्दै नारीहरूको कलम चल्यो । पौच विनाका युवा शक्तिको बेरोजगार र विदेशिने क्रम बाक्लियो । यी सबै कारणबाट हिनतावोध र वितृष्णाले खुम्चिदै गएका कारण व्याङ्ग्यमा जातिय चेतना, वर्गिय चेतना, सिमान्तकृत चेतना सहितका कथासाहित्य समकालीन नारी स्रष्टाहरूले लेखे । मानिस सिमावद्ध रही मानवीय गुणका साझा सवालका, अहमका, द्धन्द्धबाट सिर्जित मानवीय संकटका कथा पनि नारीले लेखे ।
     उपनिषद्कालका विधुषी नारी मैत्रेयी र गार्गी नारी जगतका आस्थाका धरोहर र बौद्धिक सम्पत्ति हुन । नेपाली सांस्कृति चेतनाका बौद्धिक शक्ति मानिने यी विधुषी त्यस समयका रत्न हुन भने त्यही समयबाट नारी वर्गमाथि अन्याय हुन थालेका कुरा नकार्न सकिदैन । अन्यायको ज्वाला दन्किएर पनि सहन शक्तिका प्रतिरुप नारीहरूमा सहनुको सिमा रहेन् । अति नै भएपछि युगको चेतनाले विसौं शताब्दीको अन्तिमबाट अन्य क्षेत्रमा झैं कथा लेखनमा पनि नारीहरू अग्रसर भएका हुन भन्न सकिन्छ ।
     नेपाली नारी कथा लेखनको पृष्ठभूमि तिर फर्किदा भारतबाट प्रकाशित गोर्खा संसार पत्रिका १९८४ सालमा दिव्यादेवी कोइरालाको चर्खा शीर्षकको कथाबाट नै नारी कथाकारको आरम्भ भएको देखिएता पनि नेपालबाट प्रकाशित हुने शारदा पत्रिकामा पहिलो नेपाली नारी कथाकारका रुपमा १९९२ मा तुषारा मल्लिकालाई मानिने भएकाले नेपाली नारी कथा लेखनले ८ दशक नाघि सकेको छ । सुरुमा एकजना र त्यस दशकमा दश जना नारी कथाकारबाट जम्मा  १०,११ वटा कथा प्रकाशित गरी उपस्थित जनाएर पृष्ठभूमि बनाएका नारी कथाकारहरूबाट प्रारम्भ भएको कथा साहित्यमा नारी सहभागीता क्रमबद्ध रुपले पछिल्लो समयमा अर्थात हालसम्म आईपुग्दा उर्वर बनेको छ । लगभग ८ दशकको अवधिमा १५० जनाको हाराहारीमा नारी कथाकारहरू कथाका कृति नै लिएर देखिनुलाई निकै उपलब्धी मूलक मान्न सकिन्छ ।
       नेपाली कथा साहित्यकाको श्रीवृद्धिमा लागी पर्ने भारतीय नेपाली भाषाका नारी कथाकारहरूको योगदान महत्वपूर्ण छ । यिनीहरूका कथामा मानवीय जीवन र जगतका यावत पक्ष समेटेर कथा लेख्ने भारतीय नारी कथाकारहरूका कथाका विषयहरू विविध छन् । कथा शील्पको विशिष्ट कालको समायोजनसंगै आफू बाँचेको धरातललाई सुसज्जित बनाउने चेष्टामा भारतीय नारी कथाकारहरू लागि परेका छन् । यसका लागी विस्तृत अध्ययन गर्नु पर्ने भएकाले यसमा अधि बढन चाहन्न ।
     यसमा फुटकर रुपमा कथा सिर्जना गर्ने नारी कथाकारको नाम उल्लेख नगरि कथाकृति प्रकाशनमा आएका केही नारी कथाकारको मात्र नाम उल्लेख भएको यो लेख पूर्ण छैन । तर फुटकर रुपमा कथा सिर्जना गरिरहेका नारी कथाकारहरुलेकथा लेखनमा दह्रो उपस्थिति जनाई रहेका छन् । निश्चय पनि तिनको खोजिमेली समयमा हुने छ । यहाँ मैले समकालीन नारी लेखनका सन्दर्भमा पनि सामान्य संकेत मात्र गरेकी छु । यदि यस समबन्धमा विस्तृत रुपमा लेख्ने हो भने एउटा सिङगो कृति तयार गर्नु पर्ने हुन्छ । यो सुत्रात्मक र संकेतात्मक आलेख यहाँहरू समक्ष प्रस्तुत गरिएको छ ।

सन्दर्भ सामग्री सूचि 

रेग्मी, चूडामणि (२०२५),  नेपाली भाषाको उत्पति, काठमाडौं ः जगदम्बा प्रकाशन ।
प्रसाई नरेन्द्रराज (२०६३), – नारी चुली, काठमाडौँ ः नई प्रसाइ ।
पाण्डे, ज्ञानु (२०७०), नेपाली महिला कथाकार भाग २, काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
सिंह पदमावती (सम्पा. २०६१),ं नारी साहित्यकारहरूको विधागात इतिहास, काठमाडौंः गुञ्जन–।
उप्रेती, लक्ष्मी (२०६८),  नेपालका नारी कथाकारः प्रवृत्ति र प्रतिनिधि कथा, काठमाडौंः वनिता प्रकाशन ।
शर्मा, गार्गी (२०६९),शारदाका नारी स्रष्टाहरू, काठमाडौंः श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिर ।
श्रेष्ठ दयाराम (२०७०) नेपाली कथा र कथाकार, काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
अधिर थापा किसन (२०७१) समकालीन नेपाली कथा समस्या र सन्दर्भ, काठमाण्डौ . के . पी पुस्तक भण्डार ।
गौतम, लक्ष्मण प्रसाद , अधिकारी ज्ञानु (२०६९).नेपाली कथाको इतिहास, काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
ढकाल रजनी, त्रिपाठी गीता, अधिकारी ज्ञानु (२०७१) विश्व नारी नेपाली साहित्य परम्परा र प्रवृत्ति काठमाडौ, त्रिमूर्ति निकेतन ।
ढकाल रजनी, त्रिपाठी गीता (२०७१) नेपाली महिला लेखन प्रवृत्ति र योगदान काठमाडौ, शब्दार्थ प्रकाशन ।
गरिमा (२०६७), वर्ष –२८ अंक –७ पूर्णांक –३३१ –२०६७ नारी सिर्जना ।
गरिमा – नारीःअस्तित्व र अस्मिता विशेषाङ्क, वर्ष ३०, अंक ७, पूर्णाङ्क– ३५५ असार–२०६९ ।
नवराज रिजाल(सम्पा.२०७०), नवप्रज्ञान –अंक ६० बालसाहित्य विशेषांक  पूर्णाङ्क – ६० बैशाख–असार ।
केही कार्यपत्रहरु –






























































































No comments:

Post a Comment